नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गत केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई प्राविधिक कारणले भएको स्पष्ट पारेको छ।
आइतबार जारी गरिएको विज्ञप्तिमा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत ‘लोडसेडिङ तालिका’ भनेर फैलाइएको भ्रामक सूचनाप्रति गम्भीर आपत्ति जनाइएको छ।
प्राधिकरणका अनुसार चनौली ३३/११ केभी सबस्टेसनमा न्यू भरतपुरतर्फ जाने ३३ केभी लाइनमा अत्यधिक लोड बढेपछि समस्या उत्पन्न भएको हो। अपेक्षित वर्षा नहुँदा सिँचाइ लोड बढेको र सोही कारण प्रणालीमा थप चाप परेकाले ट्रान्सफर्मर फेर्नु र लोड व्यवस्थापन गर्नु आवश्यक भएको जनाइएको छ।
यही प्राविधिक कार्यका लागि केही समय विद्युत आपूर्ति रोकिँदा पूर्व जानकारीस्वरूप तालिका सार्वजनिक गरिएको भए पनि त्यसलाई 'लोडसेडिङ तालिका' भनेर प्रचार गर्नु तथ्यहीन र भ्रामक रहेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले लोडसेडिङ अब नेपालका लागि इतिहास बनिसकेको भन्दै यस्ता अफवाहप्रति सचेत रहन उपभोक्ताहरूलाई आग्रहसमेत गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस