Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएलको चपेटामा बैंक तथा वित्तीय संस्थाहरु, गैरबैंकिङ सम्पत्ति ४५ खर्ब बढी

अर्थ संसार

बुधबार, १४ साउन २०८२, १३ : ०९ मा प्रकाशित

एनपीएलको चपेटामा बैंक तथा वित्तीय संस्थाहरु, गैरबैंकिङ सम्पत्ति ४५ खर्ब बढी

अहिले वाणिज्य, राष्ट्रिय र क्षेत्रीय स्तरका विकास बैंक र फाइनान्स कम्पनी सहित कुल ५४ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकको संख्या २० वटा रहेको छ । त्यस्तै राष्ट्रिय र क्षेत्रीय स्तरका विकास बैंकको संख्या १७ वटा र फाइनान्स कम्पनीको संख्या पनि १७ वटा रहेको छ । पछिल्लो समय यी बैंक तथा वित्तीय संस्थाहरुमा गैर बैंकिङ सम्पत्ति (एनपीए) का कारण थप चपेटामा परेका छन् । 

ऋणीहरुले ऋण लिँदा राखेको धितो लिलाम बिक्री गर्दा समेत कसैले पनि खरिद नगर्दा बैंक तथा वित्तीय संस्थाहरु आफैले सकार्नु परिरहेको छ । जसले गर्दा गैर बैंकिङ सम्पत्ति बढ्दै गएको हो । बैंकले कर्जा लिएर नतिरेका ऋणीहरुको धितो जफत गर्ने गरेको छ । तर उक्त नफत गरेको धितो बिक्रीका लागि पटक–पटक बोलकबोल आह्वान गर्दा पनि बिक्री हुन सकिरहेको छैन । 

पछिल्लो समय बैंकिङ क्षेत्र बढ्दै गएको खराब कर्जा (एनपीएल) ले आक्रान्त छ । यस्तोमा एनपीए समेत बढ्दा मुनाफासँगै बैंक तथा वित्त कम्पनीको वासलातमै नकारात्मक असर परेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ४५ अर्ब भन्दा माथि पुगेको छ । यो अवधिमा एनपीए बढेर ४५ अर्ब ७० करोड १० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकिङ क्षेत्रमा औषत निष्क्रिय कर्जा (एनपीए)को अनुपात पनि बढेर ५.२४ प्रतिशत पुगेको छ ।

आर्थिक वर्ष २०८०/८१ सोही अवधिको तुलनामा गत वर्ष यस्तो सम्पत्ति १६ अर्ब ९६ करोड ६० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा बैंकिङ क्षेत्रको औषत खराब कर्जा (एनपीएल) ३.९८ प्रतिशतमा सीमित रहँदा कुल एनपीए पनि २८ अर्ब ७३ करोड ५० लाख रुपैयाँमा सीमित रहेको थियो । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंकिङ क्षेत्रमा औषतमा १.२६ प्रतिशतले निष्क्रिय कर्जा बढ्दा गैर–बैंकिङ सम्पत्ति झण्डै १७ अर्ब रुपैयाँले बढेको देखिएको छ । आव २०८१/८२ को जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुमा औषत ५.०५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा ३८ अर्ब ७९ करोड २० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति रहेको थियो । यो सम्पत्ति आव २०८०÷८१ को सोही अवधिको तुलनामा १४ अर्ब ५ करोड ९० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा वाणिज्य बैंकहरुमा औषतमा ३.८९ प्रतिशत कर्जा निष्क्रिय हुँदा २४ अर्ब ७३ करोड २० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो ।

विकास बैंक र फाइनान्सको पनि बढ्यो 

यसैबीच, विकास बैंकहरुमा आव २०८१/०८२ को जेठ मसान्तसम्ममा औषतमा ५.५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यो अवधिमा विकास बैंकहरुमा ४ अर्ब १६ करोड ३० रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति रहेको छ । यो सम्पत्ति आव २०८०/०८१ को सोही अवधिको तुलनामा १ अर्ब ६४ करोड १० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा विकास बैंकहरुमा औषतमा निष्क्रिय ३.६३ प्रतिशत रहँदा २ अर्ब ५२ करोड २० रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति रहेको थियो । 

राष्ट्र बैंकका अनुसार आव २०८१/८२ को जेठमा फाइनान्स कम्पनीहरुमा भने औषतमा १३.०५ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । यो अवधिमा २ अर्ब ७४ करोड ७० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति आव २०८०/८१ को सोही अवधिको तुलनामा १ अर्ब २६ करोड ५० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा फाइनान्स कम्पनीहरुमा औषतमा १०.४० प्रतिशत कर्जा खराब हुँदा १ अर्ब ४८ करोड २० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको