Like us!
Follow us!
Connect us!
Watch us!

बजाजको चेतक इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ३ लाख २४ हजार

अर्थ संसार

सोमबार, १९ साउन २०८२, १७ : ३० मा प्रकाशित

बजाजको चेतक इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ३ लाख २४ हजार

बजाजको आधिकारिक वितरक गोल्छा ग्रुपले चर्चित इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम र सर्भिस सेन्टर उद्घाटन गर्दै ‘चेतक ३५०१’ मोडलको बिक्री सुरु गरेको हो । 

कम्पनीले चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ । यो स्कुटर रातो, कालो, हरियो, हेजल नट र निलो गरी पाँच विभिन्न रङमा उपलब्ध रहेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए । निर्देशक गोल्छाका अनुसार चेतक नेपाली सडक र परिस्थितिमा अत्यन्तै सुहाउँदो इलेक्ट्रिक स्कुटर हो । ‘यसमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स छ, जसले नेपालको टेरेनमा उत्कृष्ट पर्फर्मेन्स दिन सक्छ,’ उनले भने, ‘हामीले यसको परीक्षणका लागि लोमान्थाङसम्म लगेका थियौं, र यो त्यहाँसम्म पुग्ने पहिलो इभी स्कुटर हो ।’

चेतक ३५०१ मोडल अत्याधुनिक प्रविधिले भरिपूर्ण छ । यसलाई कम्पनीको ‘चेतक एप’ मार्फत मोबाइलबाटै नियन्त्रण गर्न सकिन्छ । यसमा विभिन्न सुरक्षा फिचरहरू रहेका छन् । जसमा मोबाइलबाटै स्कुटर लक वा बन्द गर्न सकिन्छ । निश्चित भौगोलिक क्षेत्र तोकेर त्योभन्दा बाहिर गएमा स्कुटर स्वतः बन्द हुन्छ भने स्कुटर कहाँ छ भनेर फोनबाटै हेर्न सकिन्छ । चाहेको स्पिडमा लिमिटर सेट गर्न सकिन्छ । यसका साथै स्कुटर ढलेमा वा दुर्घटना भएमा मोबाइलमा नोटिफिकेसन आउने सुविधा पनि छ । 

चेतकमा ३.५ किलोवाटको ब्याट्री र ४.२ किलोवाटको पिक पावर मोटर जडान गरिएको छ । जसले उकालो बाटोमा पनि राम्रो पर्फर्मेन्स दिन्छ । कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा १५३ किलोमिटरको रेन्ज दिन्छ भने नेपाली सडकमा वास्तविक रेन्ज १३५ किलोमिटर छ ।

यसमा फास्ट चार्जिङ सुविधा छ । जसले गर्दा ३ घण्टामा ब्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । कम्पनीले सुरुवाती चरणमा नक्साल शोरुमबाट मात्र बिक्री गर्ने र ग्राहकको विश्वास जितेपछि बजाजको नेटवर्कमार्फत देशभर विस्तार गर्ने योजना बनाएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको