Like us!
Follow us!
Connect us!
Watch us!

निलम्बित अध्यक्ष शरद ओझा विरुद्धको छानबिन प्रतिवेदन अर्थ मन्त्रालयमा

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, ०८ : २७ मा प्रकाशित

निलम्बित अध्यक्ष शरद ओझा विरुद्धको छानबिन प्रतिवेदन अर्थ मन्त्रालयमा

नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको नियुक्ति र कार्यशैलीबारे छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ। उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा बनेको तीन सदस्यीय टोलीले ओझाको आचरण, पदीय जिम्मेवारी पालन र योग्यता सम्बन्धी विवादको अध्ययन गरी निष्कर्षसहितको प्रतिवेदन पेस गरेको हो। समितिमा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्यका रूपमा रहेका थिए।

ओझाले प्राधिकरणको शीर्ष पदमा नियुक्ति पाउँदा आफूले सञ्चारमाध्यम, निजी क्षेत्र र व्यापारिक संघ–संस्थामा परामर्शदाताको भूमिकासहित अनुभव हासिल गरेको दाबी गरेका थिए। तर व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्षको अनुभव आवश्यक हुने कानुनी प्रावधान पूरा नगरेको आरोप उनीमाथि छ। यही विषयमा सर्वोच्च अदालतमा पनि रिट विचाराधीन छ। समितिले सोही आधारमा ओझाको नियुक्ति वैधानिक नभएको निष्कर्षमा पुगेको बताइएको छ।

मन्त्रिपरिषद्ले असार ३० गते उनलाई छानबिन गर्ने निर्णयसहित समिति गठन गरेको थियो। अब प्रतिवेदनमाथि मन्त्रिपरिषद्ले छलफल गर्नेछ र आवश्यक निर्णय लिनेछ। सम्भावित निर्णयमध्ये पदमुक्ति पनि एक विकल्प हुनसक्ने देखिन्छ।

ओझाले भने आफूलाई कुनै किसिमको स्पष्टीकरण दिने अवसर नदिइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले मन्त्रिपरिषद् र छानबिन समितिलाई निषेधाज्ञा गर्न माग गरेका थिए, तर सर्वोच्चले तत्काल आदेश जारी नगरी मंसिरमा मिति तोकेपछि प्रक्रिया अलि ढिलो भएको छ।

गत फागुन १२ गते मन्त्रिपरिषद्को निर्णयबाट ओझा प्राधिकरणको अध्यक्ष बनेका थिए। नियुक्तिको क्रममा उनले पेश गरेको अनुभव प्रमाणपत्रबारे विवाद उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ।

बीमा ऐन २०७९ अनुसार, पदाधिकारीले खराब आचरण देखाएमा, पदीय जिम्मेवारी नपुर्याएमा वा कार्यक्षमताको अभाव देखिएमा पदमुक्त गर्न सकिने व्यवस्था छ। तर, पदमुक्त गर्नुअघि स्पष्टीकरण सोध्ने र त्यसपछि मात्र छानबिन गरेर निर्णय गर्ने प्रक्रिया तोकिएको छ। ओझाको दाबीमा भने, सरकारले यो प्रक्रिया पूरा नगरी सीधा छानबिनमा लैजाँदा आफ्नो अधिकार हनन भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको