बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी गरिएको निष्काशन सम्पन्न भएपछि अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई शेयर बिक्री गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि छुट्याइएको हिस्सा बाँडफाँड भइसकेको छ। अब भने सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर निष्काशन हुन लागेको हो।
आइपीओको आवेदन भदौ १६ गतेदेखि खुल्नेछ। लगानीकर्ताले छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा भदौ ३० गतेसम्म आवेदन दिन सकिनेछ। यसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।
आइपीओ निष्काशनको लागि केयर रेटिङ्ग नेपालले बुङ्गल हाइड्रोलाई ‘CARENP-B’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ।
यस आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस