Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिम लगानी सम्मेलनमा नेपाल चेम्बर अफ कमर्सको पूर्ण सहयोग

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, ०७ : ५७ मा प्रकाशित

सुदूरपश्चिम लगानी सम्मेलनमा नेपाल चेम्बर अफ कमर्सको पूर्ण सहयोग

नेपाल चेम्बर अफ कमर्सले आगामी मंसिर १ र २ गते सुदूरपश्चिममा हुने लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

लगानी सहज बनाउन चेम्बरको पहल

आइतबार काठमाडौंको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, मन्त्रीहरु र योजना आयोगका सदस्यहरुसँग भएको छलफलमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले सम्मेलनका लागि लगानी सहजता, प्रचार–प्रसार तथा आवश्यक सहयोग गर्ने आश्वासन दिएका हुन्। उनले नीतिगत सुधार भएमा निजी क्षेत्र आफैं लगानी गर्न तयार हुने भन्दै प्रतिफल दिने आयोजना छनोटमा ध्यान दिनुपर्ने बताए।

अग्रवालले भने, “सुदूरपश्चिममा प्राकृतिक स्रोतको अपार सम्भावना छ। पानी र लगानी दुवै ओरालो पस्ने खालका हुन्छन्, त्यसैले नीतिगत निश्चितता र लगानीमैत्री वातावरण जरुरी छ।”

प्राथमिकतामा जलविद्युत, कृषि र पर्यटन

लगानी सम्मेलनमा उद्योग, ऊर्जा, सूचना प्रविधि, कृषि, जडीबुटी, पर्यटन, खानीजन्य पदार्थ, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। विशेषगरी जलविद्युत, सीमा–पार व्यापार, कृषि उत्पादन र पर्यटनलाई सुदूरपश्चिमको प्रमुख सम्भावना मानिएको छ।

अध्यक्ष अग्रवालका अनुसार पञ्चेश्वर, कर्णाली र पश्चिम सेतीजस्ता जलविद्युत आयोजना सञ्चालनमा आएमा राष्ट्रिय अर्थतन्त्रलाई ठूलो योगदान पुग्नेछ। कृषि–प्रधान प्रदेश भएकाले धान, मकै, गहुँ, फलफूल, मसला र जडीबुटीमा आधारित प्रशोधन तथा निर्यातमुखी उद्योगमा लगानी आकर्षण गर्न सकिने उनले बताए।

लगानीमैत्री नीति र सहकार्य

चेम्बरले सम्मेलनमार्फत कर–राहत, जग्गा व्यवस्थापन, एकद्वार प्रणाली र सार्वजनिक–निजी साझेदारी (PPP) मोडललाई प्राथमिकतामा राख्न सुझाव दिएको छ। साथै वातावरणमैत्री उद्योग, जैविक खेती र नवीकरणीय ऊर्जा परियोजनाबाट दीर्घकालीन फाइदा लिन सकिने चेम्बरले जनाएको छ।

मुख्यमन्त्री शाहले चेम्बरको सहयोग सुदूरपश्चिम विकासका लागि महत्वपूर्ण हुने भन्दै पहिले आन्तरिक लगानी आकर्षित गरेर मात्र बाह्य लगानीका लागि पहल गरिने बताए। रोजगारी सृजना र छिमेकी मुलुकमा उत्पादन पु¥याउने लक्ष्य रहेको उनले जोड दिए।

अन्य सहभागिहरुको अभिमत

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बाँझो जमिन सदुपयोग गर्ने नीति बनाउनुपर्नेमा जोड दिए भने विदेशबाट फर्किएका युवाको सीप र लगानीलाई प्रदेश विकासमा उपयोग गर्न सकिने बताए।
वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले जलविद्युत आयोजनालाई उच्च प्राथमिकता दिनुपर्ने धारणा राखे।
अध्यक्ष अग्रवालले खप्तड राष्ट्रिय निकुञ्ज, अपि–सैपाल हिमश्रृङ्खला, बैजनाथ धाम र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमार्फत इको–टुरिजम, धार्मिक तथा साहसिक पर्यटनमा लगानीको अवसर प्रशस्त रहेको बताए।

नेपाल चेम्बर अफ कमर्स २००७ सालमा स्थापना भएको हो र यसले व्यवसायिक तथा औद्योगिक गतिविधिको विस्तारलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको