आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘आरबिबि फोकस ४०’ सामूहिक लगानी कोषको इकाई आजदेखि सर्वसाधारणलाई सार्वजनिक निष्काशनमा ल्याएको छ।
बैंकिङ्ग संस्थाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्काशन गर्न लागेको हो। यसमध्ये राष्ट्रिय वाणिज्य बैंकलाई कोष प्रबर्द्धकका हैसियतले कम्तीमा १ करोड ४० लाख इकाई (१४ प्रतिशत) सुरक्षित गरिएको छ। त्यस्तै योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि कम्तीमा १० लाख इकाई (१ प्रतिशत) छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
निवेशकले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। निष्काशन अवधि छिटोमा भदौ २२ गतेसम्म रहनेछ भने सो अवधिभित्र सम्पूर्ण इकाई बिक्री नभएमा असोज १ गतेसम्म लम्बिन सक्नेछ।
आरबिबि फोकस ४० को अवधि १२ वर्षको हुनेछ। यस योजनामा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखामार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सकिने व्यवस्था छ।
कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी ए प्लस’ इश्युअर रेटिङ्ग दिएको छ। त्यस्तै योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गलाई इक्रा नेपालले ‘इक्राएनपी एएमसी क्वालिटी ३’ रेटिङ्ग प्रदान गरेको छ।
यो कोषले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको आन्तरिक मूल्यांकन गर्दै उच्चतम प्रतिफल दिने सम्भावना रहेका ४० कम्पनीलाई प्राथमिकतामा राखी लगानी गर्ने योजना सार्वजनिक गरेको छ। तर, परिस्थितिअनुसार आवश्यक ठानेमा तोकिएको संख्याभन्दा बढी कम्पनीको सेयरमा समेत लगानी गर्न सकिने व्यवस्था गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस