नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पद त्याग्न माग गरेको छ। पार्टीको आज बसेको सचिवालय बैठकपछि प्रवक्ता प्रकाश ज्वालाले पत्रकारसँग कुरा गर्दै, जनताको जीवन रक्षा गर्न असफल भएका नेतृत्वले अब पदमा बसिरहन कुनै नैतिक आधार नरहेको दाबी गरे।
ज्वालाले पछिल्ला दिनमा जेन–जेड पुस्ताका युवाहरूले सुरु गरेको आन्दोलनबारे प्रतिक्रिया दिंदै भने, “बोल्ने, प्रश्न गर्ने र सामाजिक सञ्जाल प्रयोग गर्ने अधिकार खोस्ने निर्णय संविधान र अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो। हामी यस कदमको घोर विरोध गर्दछौं।” उनले युवाहरूको आन्दोलनलाई जायज ठहर गर्दै त्यसप्रति पार्टीको समर्थन र ऐक्यबद्धता रहेको बताए।
उनका अनुसार, सामाजिक सञ्जाल बन्द गरिएपछि युवाहरूमा बढेको आक्रोश स्वाभाविक रूपमा भ्रष्टाचार र कुशासन विरोधी अभियानमा परिणत भएको हो। उनले जोड दिए, “हिंसात्मक दमन गरेर समस्या समाधान हुँदैन। बेरोजगारी र कुशासनविरुद्ध सडकमा आवाज उठ्नु स्वाभाविक हो। सरकार अब जनतालाई सुशासन र रोजगारी दिने दायित्वबाट उम्कन सक्दैन।”
समाजवादीले आन्दोलनकारी युवाहरूलाई पनि शान्तिपूर्ण मार्गमा रहन आग्रह गर्दै आन्दोलनलाई मुठभेडतर्फ धकेल्ने प्रयासबाट सचेत रहन अपिल गरेको छ। बैठकले तत्कालै आन्दोलनकारीका माग सम्बोधन गर्न र सामाजिक सञ्जाल खोल्न सरकारलाई आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस