Like us!
Follow us!
Connect us!
Watch us!

सभामुख र राष्ट्रिय सभा अध्यक्ष भन्छन् - विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १३ : ३३ मा प्रकाशित

सभामुख र राष्ट्रिय सभा अध्यक्ष भन्छन् - विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले देशमा उत्पन्न विषम परिस्थितिप्रति गहिरो चासो व्यक्त गर्दै, संवैधानिक प्रक्रिया र विधिको शासनबाट बाहिर नजान सबैलाई आग्रह गरेका छन्।

शुक्रबार संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा दुबै नेताले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई उच्च सम्मान गर्दै, वर्तमान संकटको समाधान संविधानमै खोज्नुपर्ने स्पष्ट पारेका छन्। साथै, राष्ट्रपतिले संवैधानिक दायित्वअनुसार समाधान खोज्न अग्रसर भएको उल्लेख गर्दै त्यसप्रति समर्थन व्यक्त गरेका छन्। भदौ २३ र २४ गते भएको ‘जेन जी’ आन्दोलनका क्रममा जनधनमा परेको क्षतिप्रति संघीय संसद्ले गहिरो दुःख व्यक्त गरेको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा आन्दोलनका क्रममा संसद् भवनसहित सिंहदरबार क्षेत्रका विभिन्न सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति र ऐतिहासिक दस्तावेजमा भएको तोडफोड, आगजनी तथा नोक्सानीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

‘देशभर भएका घटनाले लोकतान्त्रिक मूल्य, सम्पत्ति र संस्थागत संरचनामा ठूलो क्षति पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

वर्तमान जटिल परिस्थितिको समाधानका लागि सभामुख र राष्ट्रिय सभा अध्यक्षले सबै पक्षलाई संवैधानिक प्रक्रिया अवलम्बन गर्न आग्रह गरेका छन्।

‘विपत्तिपूर्ण अवस्थामा पनि सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई सर्वोच्च मान्दै अघि बढ्नैपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

मुलुकको लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले सबै पक्षलाई शान्तिपूर्ण माध्यम अपनाउन र संविधानको सीमाभित्र रहेर आफ्ना मागहरू अघि सार्न आग्रह गरेका छन्।

‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौं । आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौं,’  विज्ञप्तिमा भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको