अर्थतन्त्रको सुधार र मुलुकको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्रका व्यवसायीहरूले एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। राजधानीमा सम्पन्न संयुक्त छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यवसायी पहल, निर्यात व्यवसायी महासंघ, नेपाल युवा उद्यमी मञ्च लगायतका विभिन्न व्यवसायिक छाता संगठनका पदाधिकारीहरूले साझा धारणा प्रस्तुत गरेका हुन्।
उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारी सदस्य तथा स्थल यातायात तथा पारवाहन समितिका सभापति शिव प्रसाद घिमिरेको पहलमा आयोजित उक्त छलफलमा हालैको जेनजी आन्दोलनपछिको अवस्था, व्यवसायमा देखिएका चुनौतीहरू तथा समाधानका उपायबारे विस्तृत विचारविमर्श भएको थियो। कार्यक्रममा बोल्ने व्यवसायीहरूले पछिल्ला आन्दोलनले उद्योग र व्यापार क्षेत्रमा गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै सरकारको सक्रियतामा केही नाकाहरू छोटो समयमै पुनः सञ्चालनमा आएको उदाहरण प्रस्तुत गरे। उनीहरूले सरकार दृढ भएर काम गरे व्यवसायसँग सम्बन्धित समस्या समाधान सम्भव हुने धारणा राखे।
छलफलमा सहभागी व्यवसायीहरूले आगामी दिनमा निजी क्षेत्र एकताबद्ध भएर अघि बढ्ने, नीतिनिर्माण प्रक्रियामा युवा पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्ने, पुनर्निर्माण कार्यमा सक्दो सहयोग गर्ने र बौद्धिक एवं सक्षम युवालाई प्रोत्साहन गर्ने विषयमा सहमति जनाए। कार्यक्रमका क्रममा निजी क्षेत्रमाथि भएका आक्रमणले व्यवसायिक सुरक्षामा प्रश्न उठाएको र यसले बेरोजगारी बढाउने खतरा रहेको भन्दै सचेत गराए। साथै, अर्थतन्त्रमा निजी क्षेत्रको योगदानलाई अझ प्रभावकारी बनाउँदै निर्यात प्रवर्द्धन, पर्यटन संरक्षण तथा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित गन्तव्यका रूपमा चिनाउनुपर्ने आवश्यकतामा पनि जोड दिए। छलफलमा व्यवसायीहरूसँगै विभिन्न वस्तुगत संघका प्रतिनिधिहरूले हाल देखिएका समस्याहरूको समाधान र राज्यले लिन सक्ने सम्भावित कदमहरूबारे सुझाव प्रस्तुत गरे। छलफलको विस्तृत प्रतिवेदन तयार गरी चाँडै सरकार र सम्बन्धित निकायलाई बुझाउने निर्णय गरिएको छ।
व्यवसायीहरूको धारणा अनुसार, अहिलेको संवेदनशील परिस्थितिमा सरकारलाई मार्गदर्शन दिने र निजी क्षेत्रको सुरक्षालाई प्राथमिकता दिने कार्यमा व्यवसायी, उद्यमी र सरोकारवालाबीचको सहकार्य अत्यन्तै आवश्यक रहेको उल्लेख गरेका छन्।
उक्त कार्यक्रममा सबै प्रमुख व्यवसायिक संस्थाका पदाधिकारीसहित ३०० भन्दा बढी व्यवसायीहरूको उपस्थिति रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस