नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेसम्म मुलुकको दिगो आर्थिक प्रगतिमा अवरोध हुने चेतावनी दिनुभएको छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई मंगलबार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले, देशकै सबैभन्दा ठूलो रोजगारदाता भएर पनि प्रत्येक आन्दोलनमा निजी क्षेत्र प्राथमिक निशानामा पर्नु दुःखद भएको बताउनुभयो। उहाँले भन्नुभयो, “निजी क्षेत्रमाथि आक्रमण हुनु भनेको यसको महत्व बुझ्न नसकिएको स्पष्ट प्रमाण हो। यसबारे सही दृष्टिकोण निर्माणमा सञ्चारजगतले अग्रसर हुनुपर्छ।”
अध्यक्ष ढकालका अनुसार, हालसम्मको तथ्यांकले जेनजी आन्दोलनपछि मात्र करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति निजी क्षेत्रमा पुगेको प्रारम्भिक अनुमान गरिएको छ। राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति र आन्दोलनहरूमार्फत निजी क्षेत्र पटक–पटक आहत भए पनि देशको कुल अर्थतन्त्रमा यसले करिब ८१ प्रतिशत योगदान दिइरहेको र ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको उहाँले उल्लेख गर्नुभयो।
सरकारले हालै ल्याएको राहत प्याकेजलाई महासंघले सकारात्मक रूपमा लिएको भन्दै ढकालले छोटो समयमा नै निजी क्षेत्रको मनोबल उकास्ने प्रयासलाई स्वागत गर्नुभयो। साथै, उहाँले तथ्यमा आधारित पत्रकारिता र अनुसन्धानले मात्र निजी क्षेत्रको विश्वासिलो छवि बनाउन सक्ने र नीति सुधारमा दबाब सिर्जना गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पछिल्ला घटनाक्रमले उद्योगी व्यवसायीहरूमा असुरक्षाको भावना बढाएको बताउँदै, शान्ति–सुव्यवस्था कायम गरेर व्यवसाय गर्ने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो। उहाँका अनुसार, अन्तर्राष्ट्रिय जगतमा नेपालबारे नकारात्मक सन्देश गएको छ, जसले रोजगारी र लगानी दुवैमा असर पार्न सक्छ।
त्यसैगरी, उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्रलाई पुनर्जीवित गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र आवश्यक रहेको बताए। कोषाध्यक्ष भरतराज आचार्यले सुरक्षा, समन्वय र सहकार्यमार्फत मात्र आर्थिक पुनर्निर्माण सम्भव हुने धारणा राखे।
सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारितामार्फत सेजनले हरेकपटक उद्यमशीलता, रोजगारी र खुला अर्थतन्त्रका पक्षमा पैरवी गर्दै आएको स्मरण गर्दै महासंघसँगको सहकार्य निरन्तर रहिरहने बताउनुभयो।
महासंघले बदलिँदो राजनीतिक परिस्थितिमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने साझा प्रयास जरुरी रहेको निष्कर्षसमेत सार्वजनिक गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस