नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत सप्लाई लिएका उपभोक्ताहरुलाई बक्यौता विद्युत महशुल बुझाउन सूचना जारी गरेको छ । असोज १० गते बसेको प्राधिकरण सन्चालक समितिको बैठकले बक्यौता विद्युत महशुल २१ दिन भित्र अर्थात कात्तिक १७ गते भित्र भुक्तानी गर्नुपर्ने निर्णय गरेको जनाएको छ । सोही अनुसार सूचना जारी भएको हो ।
मासिक किस्तावन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरुलाई बढिमा २८ महिनाको किस्तावन्दीको सुविधा उपलब्ध गराइने जनाएको छ । उल्लेख समय सीमाभित्र बक्यौता महशुल बुझाउन नआएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम कारवाही हुने जनाएको छ । प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लाईनमार्फत विद्युत उपभोग गरेवापत २०७२ माघदेखि २०७५ बैशाख महिनासम्मको विद्युत महशुल बक्यौता रहेका ग्राहकहरुलाई प्रशासकीय पुनरावलोकनको लागि २०८२ जेष्ठ मसान्तभित्र निवेदन दिन सक्ने म्याद कायम गरी २०८२ वैशाख २६ गते र २०८२ वैशाख ३० गते सूचना प्रकाशित गरेको थियो ।
उक्त समयमा गरेको म्याद कायम गर्ने निर्णय तथा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारवाहीहरु संचालक समितिको असोज १० गतेको निर्णयानुसार बदर भएको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस