पायोनियर ओपन स्काउट ग्रुपद्वारा आयोजित धाँ बाजा प्रशिक्षण समापन तथा दिक्षान्त समारोह एवम् सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाकी नगर उप–प्रमुख तथा नगर प्रमुख स्काउट रजनी जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै, नेपाल स्काउटका पूर्व प्रमुख आयुक्तद्वय रविन दाहाल र महेन्द्र राज रन्जित विशिष्ठ आतिथ्यताका रुपमा सहभागि भएका थिए । समारोहको सुरुवातमा ग्रुप लिडर रमेश सितिखुले स्वागत मन्तव्य दिएका थिए । उनले पायोनियर ओपन स्काउट ग्रुपले स्काउटको सिद्धान्तमा आधारित रही हालसम्म गरेका सम्पूर्ण गतिविधि र उपलब्धिहरूलाई श्रव्य–दृश्यमार्फत प्रस्तुत गर्दै समूहले गरेको योगदानबारे प्रकाश पारे । साथै उनले उपस्थित सबैलाई विजया दशमी २०८२ को शुभकामना पनि दिएका थिए ।
उनको स्वागत मन्तव्यपछि कार्यक्रमको मुख्य भाग अर्थात् धाँ बाजा प्रशिक्षण समापन र दिक्षान्त समारोह सम्पन्न भएको थियो । नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक हतुको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ६० जना भन्दा बढी विभिन्न तहका स्काउटहरू दिक्षित भए । साथै, स्काउटकै ३३ जना विद्यार्थीले धाँ बाजा प्रशिक्षण पूरा गरी प्रमाणपत्र प्राप्त गरेका थिए ।
समापन कार्यक्रममा पूर्व प्रमुख आयुक्त रविन दाहालले स्काउटिङले विद्यार्थीमा अनुशासन, शिष्टाचार र नेतृत्व क्षमताको विकास गर्ने उल्लेख गर्दै दशैं–तिहारको अवसरमा सबैलाई मंगलमय शुभकामना व्यक्त गरे । त्यस्तै, पूर्व प्रमुख आयुक्त महेन्द्र राज रन्जितले स्काउटहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै चाडपर्वले आपसी सद्भाव र मेलमिलाप बढाउने बताए ।
प्रमुख अतिथि रजनी जोशीले पायोनियर ओपन स्काउट ग्रुपको योगदानलाई प्रशंसनीय कार्य गरेको बताउँदै स्काउट शिक्षा लाई अझ सबल बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् । साथै उनले पनि उपस्थित सम्पूर्ण स्काउट, अभिभावक र समुदायलाई विजया दशमी तथा आगामी तिहारका लागि शुभकामना दिइन् । समारोहको सभापतित्व ग्रुपकी अध्यक्ष रमिता खुशुले गरेकी थिइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस