ब्रिटिस गायक एड शिरनले आफ्नो तौल २० किलो घटाउँदै जीवनकै उत्कृष्ट शारीरिक अवस्थामा पुगेको बताएका छन्। सिरीयसएक्सएमको स्मल स्टेज सिरिजमा एन्डी कोहेनसँगको अन्तरवार्तामा उनले तौल घटाउने यात्राबारे खुलासा गरेका हुन्।
३४ वर्षीय शिरनले भने, “गत वर्ष मैले धेरै तौल बढाएको थिएँ, त्यसपछि मैले जिममा कडा मेहनत गरेर कम्तीमा एक स्टोन तौल घटाउने लक्ष्य राखें। तर त्यसपछि सोचेँ, ‘यो कति टाढासम्म लैजान सक्छु त?’”
उनको प्रारम्भिक लक्ष्य ‘सिक्स प्याक’ बनाउने रहेको भए पनि त्यसलाई चुनौतीपूर्ण रहेको बताए। “मसँग जीवनमा कहिल्यै सिक्स प्याक थिएन, त्यसैले एकपटक प्रयास गरेर हेर्न चाहें। कहिलेकाहीँ साथीभाइसँग भेट हुँदा केही बियर खान्छु, जसले प्रगति बिगार्छ। तर समग्रमा ठीकै चलिरहेको छ, अहिले म जीवनकै उत्कृष्ट अवस्थामा छु,” उनले भने।
शिरनले २०१९ मा धुम्रपान छोडेपछि दौडनलाई आफ्नो नियमित अभ्यासको हिस्सा बनाएको बताए। “धुम्रपान रोक्दा फोक्सो धेरै भरिएको महसुस भयो, त्यसलाई सफा गर्न ताजा हावामा दौडनु नै सबभन्दा उपयुक्त लाग्यो,” उनले बताए।
उनका अनुसार खानपानमा सचेतता फिटनेसको मूल मन्त्र बनेको छ। पहिले अत्यधिक खाने र बाहिर खान प्रायः जाने गरे पनि अहिले उनले पौष्टिक र सन्तुलित घरको खाना खान थालेका छन्।
दुई छोरीका पिता शिरनले मनपर्ने खानेकुरा कहिलेकाहीँ खाए पनि त्यसलाई वर्कआउटमार्फत बर्न गर्ने गरेका छन्। “सन्तुलन नै मेरो परिवर्तनको रहस्य हो,” उनले भने।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस