Like us!
Follow us!
Connect us!
Watch us!

चालु आवमा ४५ हजार भन्दा बढीले बढ्यो सुनको मूल्य, सुन महंगो बन्नुको कारण के ?

अर्थ संसार

बुधबार, २२ असोज २०८२, ११ : ४४ मा प्रकाशित

चालु आवमा ४५ हजार भन्दा बढीले बढ्यो सुनको मूल्य, सुन महंगो बन्नुको कारण के ?

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले अस्वभाविक रुपमा बढीरहेको छ ।

दिन दुई गुणा रात चौगुणा भनेजस्तै गरि सुनको मूल्य बढी रहेको हो । दशैँ पछिका हरेक दिनमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । दशैँ पछिको पहिलो कारोबारका दिन असोज १९ गतेदेखि असोज २२ गतेसम्म आउँदा सुनको मूल्यले दिन दिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ । दशैँ पछिको कारोबार भएको ४ दिनमा सुनको मूल्य १४ हजार ८०० रुपैयाँले वृद्धि भएको छ ।

दशैँ अघिको अन्तिम कारोबार दिन असोज १२ गते सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलाको २ लाख ३८ हजार रुपैयाँ पुगेको छ । 

पछिल्लो एक महिनाको अन्तरमा सुनको मूल्यमा २७ हजार ६०० रुपैयाँको वृद्धि भएको छ । भदौ २२ गते सुनको मूल्य २ लाख १० हजार ४०० रुपैयाँ थियो । जुन आजको मूल्य भन्दा २७ हजार ६०० ले कम हो । दशैँ बिदापछिका कुनै पनि दिनमा सुनको मूल्य घटेर कारोबार भएको छैन । लगातार रुपमा रेकर्डमाथि रेकर्ड कायम गरिरहेको छ । त्यस्तै चालु आर्थिक वर्ष सुरुभएदेखि हालसम्मको अवधिमा सुनको मूल्यमा ४५ हजार ७०० रुपैयाँले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो दिन सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यमा जुन रुपमा वृद्धि भइरहेको छ । यो गति कायम रहेको अवस्थामा सुनको मूल्यले छिट्टै तीन लाख पुग्ने व्यवसायीहरुको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीति,भुराजनीतिक र अमेरिकी केन्द्रीय बैंकको व्याजदरका कारणले अहिले सुनको मूल्य बढीरहेको नेपाल सुनचाँदी व्यवसायी महसांघका वरिष्ठ उपाध्यक्ष दियश रत्न शाक्य बताउँछन् । सुनचाँदीको सेप्टेम्बर महिनामा अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजरर्भले अनुमान गरिए बमोजिम ०.२५ प्रतिशतले ब्याजदर घटाएर ४ देखि ४.२५ प्रतिशत व्याज दर कायम गरेको छ । अमेरिकाको मुद्रा स्फिति २.९० प्रतिशतले वृद्धि भएर बेरोजगार दर बढेपछि चुनौतिको सामना गर्न ब्याज दर घटाएको कारणले पनि सुनको मूल्यमा लगातार वृद्धि भइरहेको उनी बताउँछन् । त्यस्तै रसिया युक्रेन युद्ध रोकिने कुनै गुन्जायस नदेखिनु अनि इजरायल र प्यालेस्टाइन बीचको युद्धसँगै लेबनान, यमन, इरानमा समेत युद्ध लम्बिने संकेट देखिनुले गर्दा विश्व व्यापारमा असुरक्षा बढाएको छ । साथै भारत–पाकिस्तान तथा थाइल्याण्ड र कम्बोडिया बीचको केही दिनको युद्धले थपेको असुरक्षाको असरले विश्व व्यापारको लयमा धक्का पुगेको र यसले पनि सुनको मूल्य वृद्धिमा सहयोग पुगेको शाक्यको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नयाँ राजनीतिक तथा आर्थिक दृष्टिकोण एवं संरक्षणवादी नीतिले विश्व बजार तरंगित भएको छ । विशेष गरि रेसिप्रोकल ट्यारिफ अन्तर्गत मेक्सिको क्यानडा, चीन ,युरोपियन युनियन, भारत ,आसियान राष्ट्रहरु सहितलाई बढाइएको १०० प्रतिशत सम्मको भन्सार वृद्धिले विश्व व्यापारमा अवरोध एवं चुनौती थपेको मात्र होइन अस्थिरता उत्पन्न गरेको छ । त्यस्तै वल्र्ड गोल्ड काउन्सिलका अनुसार गत वर्ष २०२४ मा विश्वका केन्द्रीय बैंकहरुले १०४५ टन  खरीद गरेका छन् । विगत केही वर्ष देखि लगातार केन्द्रीय बैंकहरुले प्रत्येक वर्ष  १००० टन हाराहारी  सुन खरीद गर्दै सञ्चिति बढाइ रहेका छन्। यसले पनि सुनको माग बढाउन  र भाउ उकास्न सहयोग गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको