वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ। कार्यालयका अनुसार यस अवधिमा पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास र एटिएफ (विमान इन्धन) गरी पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गरी ११ अर्ब १८ करोड राजस्व संकलन गरिएको हो।
भन्सार कार्यालयले दुई महिनामा रु २६ अर्ब ३३ करोड खर्चिएर ती पदार्थ आयात गरेको थियो। प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुमध्ये पेट्रोलियम पदार्थको योगदान २८ दशमलव ५६ प्रतिशत रहेको कार्यालयले जनाएको छ। यातायातका साधन र तिनका पार्टपुर्जाबाट ६ अर्ब १४ करोड (१५.६८ प्रतिशत) राजस्व प्राप्त भएको छ भने फलाम तथा फलामजन्य वस्तुहरूबाट २ अर्ब ५४ करोड (६.४९ प्रतिशत) राजस्व संकलन भएको छ। साथै, सबै प्रकारका कपडाबाट १ अर्ब ९८ करोड (५.०६ प्रतिशत) राजस्व आएको छ।
कुल मिलाएर वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गर्न सफल भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस