हिन्दु नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार सुरु भइसक्यो । तिहार बत्तिहरुको चार्ड हो । अहिले तिहारका लागि झिलिमिल बत्तिहरुको खरिद गर्नका लागि आम नागरिकहरुको भिड बिजुली पसलमा बढ्दै गएको छ । नेपालमा पनि पछिल्लो समय फुलको भन्दा झिलिमिली बत्ति बाल्ने संस्कृति बढ्दै गइरहेको छ । फूल भन्दा सहज हुने भएकाले अहिले शहरमा मात्रै होइन गाउँमा पनि यसको माग बढ्दै गएको छ । झिलिमिली बत्तिको माग र व्यापारको अवस्था कस्तो छ ? यसै पेरिफेरिमा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटासँगै अर्थसंसारका महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश :
तिहार लागेसँगै झिलिमिली बत्ति किन्नेको भिड देखिन्छ । व्यापारको अवस्था कस्तो छ ?
स्वभाविक रुपमा यो उज्यालको चार्ड भएकाले अहिले व्यापारको अवस्था राम्रो छ । माग पनि बढेको छ । अहिले पसलहरुमा भिडभाड भएको अवस्था छ । सामानहरु धमाधम खरिद बिक्री भइरहेको अवस्था छ । तिहारको सयमा व्यापार राम्रै हुन्छ ।
समग्रमा कुरा गर्दा भने हाम्रो व्यवसाय दुई चार वर्षदेखि संकुचनको अवस्थामा नै रहेको छ । यस्तो हुनुको कारण भनेको नयाँ भवनहरु निर्माण नहुनु, आर्थिक संकुचन र लिडजन्य सामग्रीहरु एक पटक खरिद गरिसकेपछि दुई चार वर्षका लागि बाल्न सकिने कारणले गर्दा हो । यी कारणले गर्दा बिक्रीमा केही कमी भएको महशुस व्यवसायीले गरेका छन् ।
तिहारको समयमा त तपाइहरुको व्यवसाय ठिकै हुन्छ होला ? अन्य समयको व्यवसायका कस्तो हुन्छ ?
व्यवसायीहरु केही कुराले सकारात्मक पनि देखिन्छ । तर धेरै जसो व्यवसायीहरु निराश नै देखिन्छन् । अहिले व्यवसायीहरुका लागि राम्रो कुरा भनेको बैंकको ब्याजदर घट्नु हो । त्यो बाहेक अरु सबै कुरामा व्यवसायीहरु आशा गर्न सक्ने अवस्थामा छैनन् । पहिलेको भन्दा ब्याजदर कम छ ।
अहिले व्यापार घटेको छ । नयाँ घरहरु बनेका छैनन् । उपभोग गर्ने जनसंख्या विदेश गएका कारणले पनि अहिले समस्या आइरहेको छ । यी कुराले गर्दा अन्य व्यापारमा जसरी गिरावट आएको छ विजुली बत्तिको व्यापारमा पनि गिरावट आएको अवस्था छ । अहिले विजुली बत्तिको व्यापार ४० देखि ५० प्रतिशत मात्रै भइरहेको अवस्था छ । यो पनि निकै मुस्कीलले भइरहेको छ ।
वार्षिक रुपमा बिजुली बत्तिको व्यवयास कतिको हुन्छ । अनि तिहारको समयमा मात्रै कतिको हुन्छ ?
विजुलीको कुरा गर्दा धेरै क्षेत्रलाई समेटेको छ । हाइड्रोपावरमा जाने सामग्रीहरु पनि यसैमा पर्छन । होटलहरुमा पनि जान्छ । यसले गर्दा बार्षिक रुपमा खर्बौँको व्यापार हुन्छ । तारहरु, ट्रान्सफरम पनि हामीहरुको पनि हामीहरुले व्यवसाय गर्छौँ । करोडौँ करोडको व्यापार हुन्छ ।
माला बत्तिको कुरा गर्दा २५ देखि ३० करोडको आयात हुन्छ । त्यसमा १२ प्रतिशतजति जोडेर जति हुन्छ त्यति नै हाम्रो माला बत्तिको व्यवसाय हो ।
अहिले झिलिमिली बत्तिको मागको अवस्था के छ ?
तिहारको लागि आज र भोलि यसको माग हुन्छ । तर अहिले माग घट्दै गएको अवस्था छ । नयाँ घर बनाएका वा नयाँ डिजाइन केही आएको छ कि भनेर नै खोज्नेहरु हुन्छन् । नयाँ भवन बनाए पनि जोडिने कुरा र नयाँ आए पनि किन्ने कुरा हो । यो तिहारको समयमा हुने व्यवसाय ठूलो व्यवसाय होइन । तर, बजार भिडभाड भने हुन्छ ।
पहिले पहिले दशैँले तिहारलाई जित्थ्यो । दशैँ आउनु भन्दा अगाडि घरहरु बनाउने, गृह प्रवेश गर्ने र सामग्रीहरु किन्ने हुन्थ्यो । अहिले अरु समयमा व्यवसाय नभएकारले तिहारको मसयमा नै ठूलो व्यवसाय भएको हो कि जस्तो देखिएको छ ।
झिलिमिली बत्ति सहित अन्य बत्तिहरु आयात गरेर नै उपभोग गरिरहेका छौँ कि स्वदेशमा पनि उत्पादन गरेका छौँ ?
हामीहरु केही सामानहरुमा आत्मनिर्भर भएको अवस्था छ । तारका र वायरिङका सामग्रीमा हामीहरु आत्मनिर्भर बनेका छौँ । लिस्टीहरु, प्यानल बार्डहरु पनि नेपालमा नै उत्पादन हुन्छ । ट्रान्सफमर पनि यहीँ बन्छ । यसमा आत्मनिर्भर बन्न नसके पनि राम्रो व्यवसाय भएको अवस्था छ ।
यति भन्दै गर्दा हामीहरुले यी सामग्री बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ बाहिरबाट नै ल्याउनु पर्छ । यति हुँदा पनि धेरै जसो आयात गरेर नै धान्नु पर्ने अवस्था छ । पछिल्लो समय एसम्बल गर्ने परिपाटीको पनि विकास भएको छ । सामानहरु ल्याएर जोडेर बिक्री गर्ने गरिएको पनि छ । यसमा नेपालको जनशक्ति लगायत प्रयोग हुने गरेको छ । पंखा पनि यही नै एसम्बल हुन्छ । बडी पनि यही निर्माण हुन्छ । यति हुँदा हुँदै पनि हामीहरुले धेरै सामानहरु विदेशबाट ल्याउनु पर्ने बाध्यता रहेको छ ।
स्वदेशमा उत्पादन गर्न नसक्नुको कारण के हो ? राज्यको नीतिमा नै समस्या हो कि अरु समस्या पनि छन् ?
स्वदेशमा नै उत्पादन गर्न नसक्नुको कारण राज्यले नीति पनि हो । नीति निर्माणहरु पनि त्यसै अनुसकारको बनाउनु पर्ने हुन्छ । अर्को तर्फ जनताहरु पनि व्यवसायी हुनु परो । स्वदेशमा उत्पादन गर्नका लागि पनि समस्या छ । अन्तराष्ट्रिय रुपमा कच्चा पदार्थको मूल्यमा तल माथि हुने गरेकाले पनि समस्या छ । जनशक्तिको पनि समस्या भइरहेको छ । सुरुमा कारखाना स्थापना गर्नका लागि समस्या छ । समस्याका बाबजुत पनि व्यवसायीहरु लागिरहेको अवस्था छ ।
कच्चा पदार्थ नै विदेशबाट आउने भएकाले पनि समस्या भइरहेको छ । विदेशीहरुले धेरै उत्पादन गर्ने र हामीले कच्चा पदार्थ ल्याएर उत्पादन गर्दा कम हुने भएकाले मूल्यमा पनि ठूलो अन्तर हुन्छ । जसले गर्दा प्रतिस्पर्धा गर्नका लागि समस्या हुन्छ । सरकारले विदेशबाट सामानै ल्याउने भन्दा कच्चा पदार्थ ल्याएर स्वदेशमा नै उत्पादन गर्नेहरुका लागि सुविधा दिनु पर्छ । भारतमा लोकेशन अनुसार फरक फरक व्यवस्था गरिएको हुन्छ । नेपालमा पनि सोही अनुसारका सुविधाहरु सहितका योजनाहरु ल्याएको खण्डमा नेपालमा पनि उत्पादन हुन सक्ने अवस्था रहन्छ ।
यो पटकको तिहारका लागि बत्तिको मूल्य बढेको छ कि छैन ?
यो पटक बत्तिको मूल्य बढेको छैन । विदेशमा पनि बत्तिको मूल्य घटेको छ । उताबाट घटेर आएको भए पनि अहिले डलरको मूल्य बढेकाले मूल्य घटेको त छैन । तर बढेको पनि छैन । अघिल्लो वर्षको हाराहारीमा नै यो पटक पनि विजुली बत्ति खरिद गर्न सकिन्छ । माग पनि धेरै छैन । यो पटक गएन भने अर्को वर्षसम्म राख्नु पर्ने भएकाले पनि यो पटक मूल्य धेरै बढेको छैन् ।
यो पटक कति जतिको झिलिमिली बत्तिको कारोबार हुने अनुमान गर्नु भएको छ ?
तिहारको समयमा भिलिमिली बत्तिको कारोबार ३५ करोड हाराहारीमा हुने अनुमान गर्न सकिन्छ । किन भने हामीहरुले ३० करोडको आयत गरेको अवस्था छ । देशभर ५–६ हजार व्यवसायीहरु रहेका छन् । आयात लेभलबाट एक हप्ता अघि नै रिटेल लेभलमा सामान पुगिसकेको छ । सबै व्यवसायीहरुसँग व्यवसायको विषयमा पनि कुराकानी भइरहेको छ । यो हिसाबले व्यवसाय ठिकै छ भन्ने कुराहरु भइरहेको छ ।
तिहारको समयमा बत्तीको अभाव हुन्छ कि हुँदैन ?
तिहारको लागि प्रयाप्त मात्रामा पुग्ने झिलिमिली बत्ति छ । यो हिसाबले बत्तिको अभाव हुने कुनै सम्भावना छैन । सबैलाई पुग्ने गरि विजुली बत्ति हामीसँग रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस