काठमाडौं । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हयात रिजेन्सी, काठमाडौं) मा व्यापक क्षति पुगेको छ। होटलले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा तोडफोड, लुटपाट तथा आगलागी जन्य गतिविधिका कारण होटलका गेस्ट रुम, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, वैंक्वेट हल, चैत्य क्षेत्रसहित सम्पूर्ण संरचनामा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार, होटल हाल पूर्ण रूपमा बन्द गरिएको छ र क्षतिको विस्तृत मूल्याङ्कन कार्य जारी छ। क्षतिको पूर्ण मूल्याङ्कन सम्पन्न भएपछि होटलको स्तरउन्नति र पुनर्निर्माण गरी अझ उत्कृष्ट सेवासहित पुनः सञ्चालनमा ल्याइने तयारी भइरहेको होटलले जनाएको छ। सो कार्य सम्पन्न हुन करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ।
हयात रिजेन्सी काठमाडौंले पछिल्ला साढे दुई दशकमा नेपालमा भएका राजनीतिक तथा सामाजिक परिवर्तनका उतारचढावका बीच पनि निरन्तर सेवा दिँदै आएको छ। सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प र कोभिड–१९ महामारीजस्ता चुनौतीपूर्ण समयहरू पार गर्दै होटलले हजारौं व्यक्तिलाई रोजगारी दिँदै आएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० मा समेत गरी सातौँ पटकसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रूपमा र दुई पटक विदेशी मुद्रा संकलन गर्ने होटलको रूपमा हयात रिजेन्सीलाई सम्मानित गरेको थियो।
होटलले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा होटलमाथि गरिएको आक्रमणप्रति गम्भीर दुःख र आपत्ति जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको यस होटलमाथि आन्दोलनका क्रममा गरिएको आक्रमण निन्दनीय छ।”
विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर प्रसाद खनाल प्रति पनि आभार व्यक्त गरिएको छ।
उनीहरूले उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्दै नेपाल सरकारबाट आवश्यक सहयोग र साथ प्रदान गरिने आश्वासन दिएको उल्लेख गरिएको छ।
कार्यकारी निर्देशक सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,
“होटलमा भएको क्षतिको पूर्ण मूल्याङ्कन पश्चात्, यसलाई स्तरउन्नति र पुनर्निर्माण गर्दै अझ विस्तारित र उत्कृष्ट सेवासहित यथासिघ्र पुनः सञ्चालनमा ल्याउने हाम्रो प्रतिबद्धता रहेको छ।”
श्रेष्ठका अनुसार, हयात रिजेन्सीले पुनर्निर्माणपछि नेपाल सरकारको राजस्वमा थप योगदान पुर्याउने र देशको पर्यटन क्षेत्रको गौरवलाई अझ उचो बनाउने लक्ष्य लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस