Like us!
Follow us!
Connect us!
Watch us!

मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री भएन

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, ०८ : २३ मा प्रकाशित

मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री भएन

विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गतामैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँ सदरमुकाम दमौली बजारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि हिँडडुलमा समस्या भएको गुनासो गरेका हुन् ।

अपाङ्गाता भएका व्यक्तिहरूले शनिबार दमौली बजारको सडक अपाङ्गतामैत्री भए÷नभएकोबारे परीक्षण गरेका छन् । तनहुँ नेत्रहीन सङ्घका अध्यक्ष विराजमान कुमालले सडक अपाङ्गतामैत्री नहुँदा दृष्टिविहीन अपाङ्गता भएकाहरूलाई समस्या भएको बताए । रिसेड तनहुँका महासचिव किशोर न्यौपानेले सडक निर्माणसँगै जेब्राक्रसिङ, टेक्सटाइलजस्ता क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताए । व्यास नगरपालिका अपाङ्गता सहायता कक्षमा कार्यरत ह्वीलचियर प्रयोगकर्ता कृष्ण थापाले ह्वीलचियर प्रयोगकर्तालाई सडक अपाङ्गतामैत्री नभएको गुनासो गरे । उनले भने, “ह्वीलचियर प्रयोगकर्ताले कतिपय ठाउँमा जेब्राक्रसको प्रयोग गर्न मिल्ने अवस्था छैन । जेब्राक्रस त छ तर सडक पहुँचयुक्त छैन ।”

अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियानले मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा निर्माण गरिएको जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री बनाउन माग गर्दै सरोकारवालालाई हालै ज्ञापनपत्रसमेत बुझाएको छ । दमौली बजारको दुर्गामन्दिरदेखि बुल्दीखोलासम्म पहुँचयुक्ततासम्बन्धी अनुगमनका क्रममा जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री नभएको देखिएकाले सो स्थानलाई अपाङ्गतामैत्री बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाइएको अपाङ्गता अधिकारकर्मी एवं अभियानका संयोजक मदन पौडेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयदेखि तरकारी लाइनसम्मको फुटपाथ अति भिरालो र तरकारी लाइनदेखि सफासडकसम्मको फुटपाथ भिरालो भएकाले अपाङ्गतामैत्री नदेखिएको जनाइएको छ । दुर्गामन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथ मध्यभागमा पर्ने गरी बिजुलीका पोल राखिएकाले ह्वीलचियर प्रयोगकर्ता र सेतोछडी प्रयोगकर्ताहरू फुटपाथको प्रयोगबाट वञ्चित भएको उल्लेख गरिएको छ । दुर्गा मन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथको मध्यभागमा पर्नेगरी बिजुलीका पोल राखिएकाले सेतोछडी प्रयोगकर्ताको सहजताका लागि राखिएको टेक्सटायलको प्रयोग गर्दा सिधै बिजुलीको पोलमा ठोक्किने समस्या रहेको जनाइएको छ ।सफासडक चोकमा रहेको जेब्राक्रस पार गरी सडकको दुवैतर्फका फुटपाथहरुमा उक्लने र्याम्प नबनाउँदा समस्या भएको उल्लेख गरिएको छ । बागबजारमा बनाइएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्ने गरी डिभाइर राखिएको साथै दुवैतर्फका फुटपाथहरूमा उक्लने र्याम्प नबनाइएको जनाइएको छ । बुल्दीखोला पुल नजिकै भएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्नेगरी डिभाइडर राखिएको उल्लेख गरिएको छ ।

अपाङ्गता अधिकारकर्मी पौडेलले भने, “उल्लेखित सडकखण्डमा रहेको सडक नालीमाथि राखिएको स्लाबबीचको ग्याप अधिक रहेकाले अपाङ्गता भएका व्यक्तिहरू दुर्घटना पर्ने अत्यधिक सम्भावना देखिएको छ ।” जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको साझा मञ्चका रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियान तनहुँ क्रियाशील छ । यस अभियानले पहुँचयुक्तता, जनचेतना, पैरवी, सञ्जालीकरणमार्फत अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकारका निम्ति काम गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको