पछिल्लो समय बजारमा मूल्य वृद्धि निकै बढेको छ । पछिल्लो समय जेनजी आन्दोलन पछि बजार भाउले आकाश छोएको छ ।
तर, नेपाल राष्ट्र बैंकको तथ्यांक भने त्यसको विपरित रहेको छ । राष्ट्र बैंकको तथ्यांकले भने साउन, भदौ र असोज महिनामा गत वर्षको तुलनामा मूल्य वृद्धि घटेको देखाएको छ । राष्ट्र बैंकको आइतबार सार्वजनिक असोज मसान्तसम्मको प्रतिवेदनले मूल्यवृद्धि घटेको देखाएको हो ।
चालू आवको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा सीमित रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत थियो ।
मुद्रास्फीति भनेको वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको मूल्य घट्नु हो । यसको अर्थ थोरै वस्तु तथा सेवा खरिद गर्नको लागि पनि धेरै पैसा आवस्यक पर्नु हो । यस अर्थमा राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति घटेको अर्थात् महंगी घटेको देखाए पनि बजारमा भने त्यस्तो अवस्था छैन । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.७५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ ।
तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.६३ प्रतिशत, मरमसलाको ७.८२ प्रतिशत र दाल तथा गेडागुडीको ४.४१ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.३ प्रतिशतले घटेको छ ।
चालू आवको असोज मसान्तसम्ममा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.२९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.५३ प्रतिशतले बढेको छ । प्रदेशगतरूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.३३ प्रतिशत, मधेश प्रदेशको १.२० प्रतिशत, बागमती प्रदेशको १.१३ प्रतिशत, गण्डकी प्रदेशको १.१६ प्रतिशत, लुम्बिनी प्रदेशको १.८९ प्रतिशत, कर्णाली प्रदेशको १.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.६९ प्रतिशत रहेको छ ।
यो अवधिमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४३ प्रतिशत, तराईको १.२९ प्रतिशत, पहाडको १.५० प्रतिशत र हिमालको २.३३ प्रतिशत रहेको छ । २०८२ असोज महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ५.५१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.२४ प्रतिशत ऋणात्मक रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः २.७१ प्रतिशत र २.४० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकांक ३.८८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस