Like us!
Follow us!
Connect us!
Watch us!

६ महिनापछि ’ट्रम्प क्याम्प’मै फर्किए एलन मस्क

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, १३ : २० मा प्रकाशित

६ महिनापछि ’ट्रम्प क्याम्प’मै फर्किए एलन मस्क

टेस्लाका प्रमुख कार्यकारी एलन मस्क अमेरिकी राजनीतिको केन्द्रमा फर्किएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादपछि टाढिएका उनी करिब ६ महिनापछि वासिङ्टनमा सार्वजनिक कार्यक्रममा देखा परे ।

साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानामा ट्रम्पले आयोजना गरेको राजकीय भोजमा मस्क पनि सहभागी थिए । मस्कले नयाँ राजनीतिक दल बनाउने योजना पनि रद्द गरिसकेका छन् । मस्कले २०२६ को मध्यावधि चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई समर्थन गर्ने र चुनावी फन्ड जुटाउने पनि बताएका छन् । उनले आफूले टकराव नभएर मित्रताको मार्ग रोजेको संकेत दिएका छन् ।

मस्कले मे महिनामा वासिङ्टन छोड्दा अवस्था अहिलेभन्दा फरक थियो । त्यतिबेला उनी ट्रम्प प्रशासनले ल्याएको ‘बिग ब्युटिफुल बिल’ र आफ्ना नजिकका सहयोगी जेरेड आइजेकम्यनलाई नासा प्रमुख नबनाउने ट्रम्प निर्णयसँग रिसाएका थिए । मस्कले ट्रम्पले यौन अपराधी जेफ्री इप्स्टीनसँग सम्बन्धित गोप्य कागजात सार्वजनिक नगरेको भनेर आरोप लगाएका थिए । ती कागजातमा ट्रम्पको नाम पनि रहेको उनले बताएका थिए । मस्कले सार्वजनिक रूपमा ‘अमेरिका पार्टी’ बनाएर रिपब्लिकन पार्टीलाई चुनौती दिने घोषणा पनि गरेका थिए ।

अहिलेको अवस्था त्यसभन्दा फरक छ । मस्कको टोलीले टेक्सासको अस्टिनस्थित एक लक्जरी होटलमा ‘सरकारी कार्यदक्षता विभाग’ टोलीको दुई दिने पुनर्मिलन कार्यक्रम आयोजना गरेको छ । यसमा भोजनसहितको टेस्ला, स्पेसएक्स र द बोरिङ कम्पनीको कारखाना भ्रमणको योजना छ । मस्क आफैँ पनि यसमा सहभागी हुन सक्छन् । यी संकेतले दुईजनाबीच सहमति भएको देखाउँछ ।

मस्कले जुन दुई मुद्दामा सबैभन्दा बढी रिस देखाएका थिए, ट्रम्पले पछि ती मुद्दामा मस्कको हितमा नै निर्णय गरे । पहिलो नासा प्रमुखको लागि मस्कका नजिकका सहयोगी जेरेड आइजेकम्यनको नामांकन फिर्ता लिनुको विवाद थियो । केही हप्तापहिले ट्रम्पले उनलाई फेरि नासा प्रमुखको लागि मनोनयन गरे, जसलाई मस्कले खुलस्त रूपमा तारिफ गरेका थिए । दोस्रो, मस्क वाइट हाउसका वरिष्ठ अधिकारी सर्जियो गोरसँग पनि अत्यन्त रिसाएका थिए, जसलाई उनी आइजेकम्यनको बाटो रोक्ने व्यक्ति ठान्थे । पछि गोरलाई भारतमा राजदूत नियुक्त गरी वासिङ्टनबाट टाढा पठाइयो । गोरको बिदाई समारोहमा ट्रम्पले हाँसो गर्दै भनेका थिए, “केही मानिसहरूले तपाईंलाई धेरै मन पराउँदैनन् ।”

ट्रम्प र मस्कबीच मे महिनामा भएको विवादपछि पहिलोपटक सेप्टेम्बरमा एक विश्वविद्यालय क्याम्पसमा दक्षिणपन्थी नेता चार्ली कर्कको हत्या गरिएपछि आयोजित श्रद्धाञ्जली सभामा उनीहरूको भेट भएको थियो । यो कार्यक्रममा २० हजारभन्दा बढी मानिसहरू उपस्थित थिए । उक्त सभामा ट्रम्प र मस्क एकअर्काको छेउमा बसेर कुराकानी गर्दै देखिएका थिए । मस्कले ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी’ छोडेपछि यो तिनीहरूको पहिलो भेट थियो । मस्कले २०२४ को राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन लगभग ३०० मिलियन डलर खर्च गरेका थिए, त्यसपछि उनी राष्ट्रपति ट्रम्पका अत्यन्त नजिकका व्यक्तिहरूमा परेका थिए । ट्रम्पले उनलाई ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी’को प्रमुख बनाएका थिए । तर, पछि ‘बिग ब्युटिफुल बिल’लाई लिएर दुईजनाबीच मतभेद भएको थियो । मस्कले मे २०२५ मा वासिङ्टन छाडेका थिए । त्यसपछि उनले ट्रम्पमाथि धेरै आरोप लगाए । यसको जवाफमा ट्रम्पले मस्कलाई दिइने सब्सिडी रोक्ने धम्की दिएका थिए । पछि मस्कले रिपब्लिकन पार्टीलाई चुनौती दिन ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दल बनाउने दाबी गरेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको