नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर)मा १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरका विभिन्न वस्तु निर्यात गरेको छ। भन्सार विभागका अनुसार यो निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यही अवधिमा नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको थियो।
यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। पाँच महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा वैदेशिक व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा पछिल्लो पाँच महिनामा आयात १५.८३ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।
आयाततर्फ सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ। पाँच महिनामा १ खर्ब ८ अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यसमा ४५ अर्ब ६० करोड ६२ लाख रुपैयाँ बराबरको डिजेल, २७ अर्ब ३३ करोड रुपैयाँको पेट्रोल, २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँको खाना पकाउने ग्यास, ८ अर्ब ३४ करोड ९९ लाख रुपैयाँको हवाई इन्धन र ४ अर्ब ३४ करोड ९९ लाख रुपैयाँको पेट्रोलियम बिटुमिन समावेश छन्। पेट्रोलियम पदार्थपछि ३९ अर्ब रुपैयाँ बराबरको कच्चा सोयाविन तेल आयात भएको छ।
निर्याततर्फ भने सोयाविन तेल अग्रस्थानमा रहेको छ। पाँच महिनाको अवधिमा ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ बराबरको सोयाविन तेल निर्यात गरिएको छ। यसपछि १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सिंथेटिक कपडा र १ अर्ब ३२ करोड रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको भन्सार विभागले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस