मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए-नेपाल) अन्तर्गत बन्ने दुई वटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ।
एमसिए-नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व-पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा-कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो।
यसैगरी एमसिए-नेपालले हालै उक्त सडकखण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट-मुग्लिङ सडकखण्डको आवधिक मर्मतको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६ दशमलव छ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको विज्ञप्तिमा उल्लेख छ।
यी आयोजनाअन्तर्गत पूर्व-पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडकखण्डमा स्तरोन्नति गरी १२ मिटर चौडा गरिनेछ भने नारायणघाट-मुग्लिङ सडकखण्डको आवधिक मर्मत गरिनेछ।
सोमबार एक कार्यक्रमबीच एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र शर्मा-कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धान खोलाबाट लमहीसम्मको सडकखण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस