कास्की जिल्लास्थित पोखरा महानगरपालिका वडा नं. २६ को सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको परिसरभित्र पर्ने ३ रोपनी ३ आना सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिगत नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अनुसन्धान अनुसार, तत्कालीन भूमि आयोगका पदाधिकारीहरूको मिलेमतोमा सो जग्गा भिम बहादुर वि.क को नाममा दर्ता गरिएको पाइएको छ। यसअघि वि.क की पत्नी सुकमाया कामीको नाममा सोही वडाको जग्गा सुकुम्बासीको हैसियतमा वितरण भइसकेको थियो। तथापि, भिम बहादुर वि.क पुनः सुकुम्बासी हुन नसक्ने भए पनि झूट्टा विवरण प्रयोग गरी उनलाई सुकुम्बासी प्रमाणित गरी जग्गा दिइएको खुलेको छ।
वि.क सँग सम्बन्धित विवरण माग्दा सम्बन्धित मालपोत कार्यालयबाट माग्नु पर्नेमा त्यसो नगरी असम्बन्धित कार्यालयबाट विवरण झिकाई बदनियत पूर्वक गैरसुकुम्बासीलाई सुकुम्बासी देखाउने कार्य गरिएको आरोपपत्रमा उल्लेख छ।
यस प्रकरणमा १ करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको अनुसन्धानले देखाएको छ। यसमा संलग्न भएको आरोपमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, सदस्य आश बहादुर गुरुङ, उमा कुमारी थापा, सोम बहादुर नेपाली र भिम बहादुर वि.क विरुद्ध मुद्दा चलाइएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस