पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप बढेसँगै कर्जाको ब्याजदर घट्ने क्रम देखा परेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा पनि वृद्धि भएको छ ।
२०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ३.१ प्रतिशतले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा निक्षेपमा २.३ प्रतिशत वृद्धि भएको थियो । वार्षिक आधारमा २०८२ कात्तिक मसान्तसम्म निक्षेपमा १३.४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ । सो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १.२ प्रतिशतले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ ।
गत वर्ष सोही अवधिमा निजी क्षेत्र कर्जा २.५ प्रतिशतले वृद्धि भएको थियो । वार्षिक आधारमा २०८२ कात्तिक मसान्तसम्म निजी क्षेत्र कर्जा ६.९ प्रतिशतले बढेको छ । कर्जा प्रवाहमा उपभोग सम्बन्धी ऋणको हिस्सा सबैभन्दा बढी २०.८ प्रतिशत रहेको छ भने सबैभन्दा कम ऋण स्थानीय तहतर्फ गएको छ ।
वाणिज्य बैंकको निक्षेप र कर्जाको भारित औसत ब्याजदरमा पनि गिरावट आएको छ । २०८१ कात्तिकमा क्रमशः ५.१ प्रतिशत र ९.७ प्रतिशत रहेको भारित औसत ब्याजदर २०८२ कात्तिकमा क्रमशः ३.७४ प्रतिशत र ७.३८ प्रतिशतमा झरेको छ । २०८२ कात्तिक मसान्तसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल १०७ बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् । वाणिज्य बैंकका शाखा सबै स्थानीय तहसम्म पुगेका छन् । शाखाको संख्या २०८१ कात्तिकमा ११ हजार ५४२ रहेकोमा २०८२ कात्तिकमा ११ हजार ५१६ रहेको छ । एटिएम बुथ भने ४४ ले बढेर ५ हजार २६८ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा बढेको छ भने विपन्न क्षेत्र कर्जा घटेको देखिन्छ । २०८१ कात्तिकमा कुल कर्जाको ४.४२ प्रतिशत रहेको निष्कृय कर्जा २०८२ कात्तिकमा ५.२६ प्रतिशत पुगेको छ । विपन्न क्षेत्रतर्फको कर्जा कुल कर्जा लगानीको ६.१७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा ५.३६ प्रतिशतमा झरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस