नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको १० अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभाग, काठमाडौंले प्रकाशित गरेको सूचनाअनुसार २०८२ पुस २४ गते बोलकबोलमार्फत “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ ‘च’ निष्कासन गर्ने भएको हो ।
सूचनाअनुसार ऋणपत्रको बोलकबोल पुस २४ गते मध्याह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुनेछ । सोही दिन ऋणपत्र निष्कासन गरिनेछ भने सांवा भुक्तानी मिति २०८३ पुस २४ गते तोकिएको छ । ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ ।
बोलकबोलमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ । यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुव्याजदरमा पनि बोल गर्न सकिनेछ। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। काउण्टरपार्टीले कबोल गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको चार अंकसम्म उल्लेख गर्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस