चालु आर्थिक वर्षको ६ महिनाको अवधि सकिनका लागि अब जम्मा दुई दिन मात्रै बाँकी रहेको छ । चालु आर्थिक वर्षको यो अवधिसम्ममा धेरै घटनाहरु भएका छन् । जेनजी आन्दोलनले सत्तामा रहेकाहरुलाई हेलिकप्टर चडेर भाग्नु पर्ने अवस्था सिर्जना ग¥यो । जसले देशमा राजनीति अस्थिरता देखियो । यसको प्रभाव सबै क्षेत्रमा परेको छ । सबै क्षेत्रमा असर पर्दा सबै भन्दा बढी असर गरेको क्षेत्रका रुपमा अहिले पुँजी बजार देखिएको छ ।
गत आर्थिक वर्षमा हालसम्मकै उच्च कारोबारको रेकर्ड कायम गरेर ३००० विन्दुसम्म पुगेको बजार चालु आर्थिक बर्ष भने २६००÷२७०० को आसपासमा रुमलिएको छ । चालु आर्थिक वर्षको पहिलो दिनदेखि अहिलेसम्मको अवधिमा सेयर बजारमा २३५.६३ अंकले गिरावट आएको छ भने कारोबार रकममा पनि ठूलो पहिरो आएको छ । चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते कारोबार बन्द हुँदा सेयर बजार २८७०.६३ विन्दुमा थियो । त्यो दिन बजार ७५.८४ अंकले बढेको थियो । आज पुस २८ गतेको कारोबार बन्द हुँदा सेयर बजार २६३५ विन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार ५.५६ अंकले घटेर कारोबार भएको हो ।
साउनको १ गते पुँजी बजारमा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँको कारोबार भएको थियो । सोमबार (आज) को कारोबार बन्द हुँदा बजार ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ रुपैयाँको कारोबार भएको छ । यो अवधिमा सेयर बजारमा १० अर्ब रुपैयाँको कमी आएको छ । २०८१ सालको साउन ३१ गते पुँजी बजारमा हालसम्मकै उच्च २९ अर्ब ९५ करोड माथिको कारोबार भएको थियो ।
जेनजी आन्दोलन पछि नदेखिएको उत्साह
जेनजी आन्दोलनले सत्ता परिवर्तन गरे पनि पुँजी बजारका लागि भने कुनै परिवर्तन ल्याउन सकेन् । जेनजी आन्दोलनपछि सेयर बजारमा कुनै उत्साह देखिएको छनै । लगानीकर्ताहरु अहिले पनि चुनाव हुने वा नहुने कुराले बजारप्रति आकर्षित हुन सकिरहेका छैन् । अहिलेको अवस्थामा चुनाव भएर एउटा स्थिर सरकार नबन्दासम्म बजारले गति लिन नसक्ने लगानीकर्ताहरुको भनाइ छ । जेनजी आन्दोलन सुरु भएको भदौ २३ गते सेयर बजार २६७५.०९ विन्दुमा थियो । त्यो दिन बजारमा ५ अर्ब २३ करोड माथिको कारोबार भएको थियो ।
यो बीचमा नियामक निकायहरुले गर्नु पर्ने सुधारका अधिकांश कामहरु भएका छन् । नेपाल राष्ट्र बैंकले गर्नु पर्ने सुधारका धेरैजसो कामहरु गरिसकेको छ । अहिले बजारका लागि आवश्यक पर्ने सबै सूचकहरु सकारात्मक रहेको स्वयम लगानीकर्ताहरुले बताउने गरेका छन् । तर, पनि बजारले भने कुनै पनि किसिमको गति लिन सकेको छैन । यसको मुख्य कारणका रुपमा राजनीतिक अन्यौलता नै रहेको लगानीकर्ताहरुको भनाइ छ ।
अहिले पुँजी बजार नेप्से परिसूचक ३२०० विन्दुमा पुगेको समयको भन्दा पनि सहज अवस्था रहेको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । बजार बढ्न नसक्नुमा भने लगानीकर्ताको मनोबल बढ्न नसक्नु मुख्य कारण रहेको उनको भनाइ छ । पुँजी बजारमा अहिले लगानी गर्ने उपयुक्त समय रहेको उनी बताउँछन् । बजारले अन्यौलता नरुचाउने भएकाले बजारले अहिले गति निलएको उनको भनाइ छ ।
नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडलले पुँजी बजार दैनिक गतिविधिले मात्रै भन्दा पनि देशको अर्थतन्त्रको अवस्था र डिमाण्ड र सप्लाइका कारणहरुले पनि पुँजी बजारलाई प्रभाव पार्ने बताउँछन् । राज्यका विभिन्न निकायमा हुने परिवर्तनले पनि सेयर बजारलाई असर गर्ने उनको भनाइ छ । बजारमा लगानीकर्ताको मनोबलले पनि असर गर्ने भएकाले अहि लगानीकर्ताको मनोबल केही कमजोर भएकाले बजारले सोचेजस्तो गति लिन नसकेको लागनीकर्ताहरुको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस