हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सर्वोच्च तथा विशेष अदालत समन्वय सुरक्षा प्रहरी इकाईको पुनःनिर्माण कार्य सम्पन्न गरेको छ ।
उक्त पुनःनिर्माण मार्फत सार्वजनिक संरचनाको संरक्षण तथा सुरक्षा जस्तो संवेदनशील निकायको कार्यसम्पादनलाई सहज बनाउन कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपूर्ण योगदान पुर्याएको हो । समयमै पुनर्निर्माण सम्पन्न भएसँगै सम्बन्धित प्रहरी इकाईले उक्त नवनिर्मित इकाईबाट पुनः नियमित सेवा सञ्चालन गर्न थालेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले क्षतिग्रस्त कार्यालय भवनको पुनःनिर्माण गरी न्याय प्राप्तिका लागि सर्वोच्च अदालत आउने सेवाग्राही तथा सर्वोच्च अदालत परिसरको सुरक्षामा प्रहरी इकाईलाई सुचारु गर्न सहयोग पुर्याएकोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडलाई धन्यवाद ज्ञापन गरेका थिए । उक्त नवनिर्मित संरचना हस्तान्तरण कार्यक्रममा सहभागी हुँदै हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अञ्जू श्रेष्ठले आगामी दिनहरूमा पनि सार्वजनिक हित तथा सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरूलाई निरन्तर प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
भवन पुनर्निर्माणसँगै कम्पनीले दुई थान कम्प्युटर, दुई थान दराज, एक थान प्रिन्टर, १२ थान कुर्सी तथा ९ थान टेबुल समेत उक्त प्रहरी इकाईलाई प्रदान गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस