नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टी केन्द्रीय समितिले गरेको पदाधिकारीमाथिको कारबाही निर्णयलाई औपचारिक रूपमा अमान्य घोषणा गरेको छ। बुधबार काठमाडौंको भृकुटीमण्डपमा बसेको बन्दसत्रले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट हटाउने निर्णयलाई अस्वीकार गर्दै त्यसलाई खारेज गरेको हो।
बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले नेपाली कांग्रेस कुनै व्यक्तिको निजी संस्था नभएको उल्लेख गर्दै पार्टीमाथि एकाधिकार जमाउने प्रयास स्वीकार्य नहुने बताए।
उनले केही दिनअघि नै सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन भइसकेको र त्यसको जानकारी निर्वाचन आयोगलाई समेत गराइसकिएको दाबी गरे। थापाले पार्टी विधानअनुसार आफूहरू अघि बढिरहेको भन्दै कारबाहीबाट विचलित नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरे।
महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वले जे निर्णय गरे पनि पार्टीको भावी दिशा अब विशेष महाधिवेशनको मञ्चबाट तय हुने स्पष्ट पारे। उनले विशेष महाधिवेशनबाट गठन हुने नयाँ कार्यसमितिलाई निर्वाचन आयोगमा दर्ता गराइने जानकारी समेत दिए।
उता विशेष महाधिवेशनबाट बनेको धारले भने देउवा नेतृत्वले दाबी गरिरहेको केन्द्रीय कार्यसमिति नै विधानविपरीत भएको भन्दै त्यसलाई अस्वीकार गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस