नेपाली कांग्रेसको आन्तरिक विवादले अब कानुनी तथा संवैधानिक मोड लिएको छ। पार्टीभित्र दुई अलग शक्ति केन्द्र बनेसँगै बुधबार साँझ दुबै पक्ष निर्वाचन आयोगको ढोका ढकढक्याउन पुगेका छन्।
सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको समूह र विशेष महाधिवेशनपछि बनेको नयाँ संरचनाको प्रतिनिधित्व गर्ने टोली एकै दिन आयोगमा पुगेका हुन्। दुबै पक्षले आफू नै वैधानिक नेतृत्व भएको दाबी गर्दै आयोगमा फरक–फरक विवरण र माग पेश गरेका छन्।
देउवा समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सह–महामन्त्री फरमुल्लाह मन्सुरमाथि गरिएको कारबाहीलाई आधिकारिक अभिलेखमा समावेश गर्न आग्रह गर्दै पत्र बुझाएको छ। उनीहरूको भनाइ अनुसार पार्टीको वैधानिक केन्द्रीय समितिको निर्णयअनुसार ती नेताहरू पदमुक्त भइसकेका छन्।
उता विशेष महाधिवेशनबाट बनेको धारले भने देउवा नेतृत्वले दाबी गरिरहेको केन्द्रीय कार्यसमिति नै विधानविपरीत भएको भन्दै त्यसलाई अस्वीकार गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। उनीहरूको दाबीमा अहिले पार्टी सञ्चालन गरिरहेको संरचना कानुनी रूपमा टिक्न नसक्ने अवस्थामा छ।
निर्वाचन आयोगले दुबै पक्षबाट प्राप्त कागजातहरू औपचारिक रूपमा दर्ता गरी अध्ययन सुरु गरिसकेको जनाएको छ। आयोगका अनुसार पेश गरिएका विवरण र दाबीको परीक्षणपछि आवश्यक निर्णय प्रक्रिया अघि बढाइनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस