बैंकिङ क्षेत्रको कुल गैरबैंकिङ सम्पत्ति आधा खर्ब रुपैयाँ नाघेको छ । पछिल्लो समय निष्क्रिय कर्जाको मात्रा बढ्दै जाँदा गैरबैंकिङ सम्पत्तिको मात्रा पनि बढेको हो ।
चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा बैंकिङ क्षेत्रमा ५१ अर्ब १ करोड ५० लाख रुपैयाँ बराबरको कुल गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो अवधिमा निष्क्रिय कर्जा औसतमा ५.२६ प्रतिशत छ । गत आवको सोही अवधिभन्दा चालू आवको ५ महिनामा गैरबैंकिङ सम्पत्ति १२ अर्ब ४२ करोड ७० लाख रुपैयाँले बढेको देखिएको हो । गत आवको पहिलो ५ महिनामा गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ५८ करोड ८० लाख बराबर र निष्क्रिय कर्जा औसत ४.४२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यसको अर्थ बैंकिङ क्षेत्रमा औसतमा ०.८४ प्रतिशतले निष्क्रिय कर्जा र कुल गैरबैंकिङ सम्पत्तिमा १२ अर्ब ४२ करोड रुपैयाँले बढोत्तरी भएको छ ।
वाणिज्य बैंकहरूमा मात्र यो अवधिमा औसत ५.०३ प्रतिशत कर्जा निष्क्रिय र ४३ अर्ब ५ करोड १० लाख रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति छ । जुन गत आवको तुलनामा १० अर्ब ३९ करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा औसत ४.२८ प्र्रतिशत कर्जा निष्क्रिय र ३२ अर्ब ६५ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो । तुलनात्मक रुपमा वाणिज्य बैंकहरूमा पछिल्लो समय औसतमा ०.७५ प्रतिशतका दरले निष्क्रिय कर्जा बढेको छ भने कुल गैरबैंकिङ सम्पत्ति १० अर्ब ३९ करोड रुपैयाँ थपिएको छ । त्यस्तै, विकास बैंकहरूमा पनि पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेको छ । राष्ट्र बैंकका अनुसार यो अवधिमा विकास बैंकहरूमा औसत ६.०३ प्रतिशत कर्जा निष्क्रिय र ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ ।
गत आवको सोही अवधिमा विकास बैंकहरूमा औसत ४.३७ प्रतिशत कर्जा निष्क्रिय थियो भने ३ अर्ब ६५ करोड ८० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । विकास बैंकहरूमा औसत १.६६ प्रतिशतले निष्क्रिय कर्जा बढेको र कुल गैरबैंकिङ सम्पत्ति १ अर्ब २२ करोड २० लाख रुपैयाँले बढेको देखिएको छ ।
फाइनान्स कम्पनीहरूमा पनि चालू आवको औसतमा १२.५२ प्रतिशत कर्जा निष्क्रिय र ३ अर्ब आठ करोड ४० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवमा फाइनान्स कम्पनीहरूमा १०.८४ प्रतिशत कर्जा निष्क्रिय र २ अर्ब २७ करोड ४० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । फाइनान्सहरूमा औसत १.६८ प्रतिशतले निष्क्रिय कर्जा र कुल गैरबैंकिङ सम्पत्ति ८१ करोड रुपैयाँले बढेको देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस