विकास बैंक तथा फाइनान्स कम्पनीहरूले रियलस्टेट अर्थात् घरजग्गा क्षेत्रमा कर्जा बढाउँदै गए पनि वाणिज्य बैंकहरूले घटाउन थालेका छन् । सोही कारण समग्र बैंकिङ क्षेत्रको घरजग्गा कर्जा पनि औसतमा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा फाइनान्स कम्पनीहरूले रियलस्टेट क्षेत्रमा दुई खर्ब ७४ अर्ब ५१ करोड कर्जा प्रवाह गरेका हुन् । यो अवधिमा कुल ७५ खर्ब ७८ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेका बैंक तथा वित्तहरुले ५६ खर्ब ६४ अर्ब ८७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
उक्त कर्जा गत आवको सोही अवधिको तुलनामा २ अर्ब ८२ करोड ९० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले रियलस्टेट क्षेत्रमा मात्र कुल २ खर्ब ७७ अर्ब ३३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत वर्ष कुल निक्षेप संकलन ६६ खर्ब ८० अर्ब ९४ करोड ९० लाख र कुल कर्जा प्रवाह ५३ खर्ब २४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ थियो । वाणिज्य बैंकहरूले मात्र चालू आवको मंसिरसम्म कुल २ खर्ब २४ अर्ब ८४ करोड ७० लाख रुपैयाँ घरजग्गामा कर्जा दिएका छन् । यो अवधिमा २० वटा बैंकहरुले ६८ खर्ब २२ अर्ब ४९ करोड ५० लाख कुल निक्षेप संकलन र ५० खर्ब ३५ अर्ब ७१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ९ अर्ब २१ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब ३४ अर्ब ५ करोड ७० लाख कर्जा प्रवाह गरेका थिए । उनीहरुले कुल ५९ खर्ब ४० अर्ब ८९ करोड १० लाख रुपैयाँ निक्षेप संकलन र कुल ४७ खर्ब १२ अर्ब ५१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
त्यसैगरी विकास बैंकहरूले यस वर्ष मंसिर मसान्तसम्म रियलस्टेट क्षेत्रमा मात्र कुल ३७ अर्ब ७१ करोड ८० लाख कर्जा बाँडेका छन् । ६ खर्ब २० अर्ब ९५ करोड ८० लाख रुपैयाँ निक्षेप संंकलन गरेका उनीहरुको कुल कर्जा ५ खर्ब २५ अर्ब ४३ करोड १० लाख रुपैयाँ छ । घरजग्गामा दिइएको यो कर्जा गत आवको सोही अवधिको तुलनामा ५ अर्ब ५३ करोड १० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले रियलस्टेट क्षेत्रमा मात्र कुल ३२ अर्ब १८ करोड ७० लाख कर्जा दिएका थिए । गत वर्ष उनीहरुको कुल निक्षेप संकलन ५ खर्ब ५ अर्ब ७९ करोड ४० लाख र कुल कर्जा प्रवाह ५ खर्ब १० अर्ब ५१ करोड ९० लाख रुपैंंयाँ थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस