पछिल्लो समयमा नेपालबाट वैदेशिक रोजगारीमा जाने र विदेशमा गएकाहरुले पठाउने रेमिट्यान्स बढीरहेको छ । नेपालबाट विदेश जोनको संख्या र रेमिट्यान्स मात्रै बढेको होइन रोजगारीका लागि विदेश जानेहरु ठगिनेक्रम पनि बढ्दै गएको हो ।
वैदेशिक रोजगार विभागको तथ्यांका अनुसार पछिल्लो ६ महिनामा नेपालबाट विदेश जानेको संख्या र त्यस बापत आउने रेमिट्यान्ससँगै रोजगारीको खोजिमा विदेश जानेहरुको संख्या पनि बढेको हो । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा जति नेपाली ठगिमा परेका थिए त्यो भन्दा बढी युवा चालु आर्थिक वर्षको ६ महिनामा नै ठगिएका छन् । विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणकाअनुसार चालु आव २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारसँग सम्बन्धित ५ हजार ७६६ वटा उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ को १२ महिनामा करिव ५ हजार उजुरी परेका थिए । जसमा करिब ९० प्रतिशत व्यक्तिगत ठगीका उजुरी थिए ।
विभागमा परेका उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५६८, प्रहरी शाखामा २ हजार ६३७ र मुद्दा अनुसन्धान शाखामा २ हजार ५६१ वटा रहेका छन् । राहत तथा उद्धार शाखामा म्यानपावर कम्पनीका उजुरी दर्ता हुन्छन् भने मुद्दा र प्रहरी शाखामा व्यक्तिगत ठगीका उजुरी दर्ता हुन्छन् । विभागमा यस अवधिमा परेका उजुरीमध्ये ९०.१५ प्रतिशत व्यक्तिगत र ९.८५ प्रतिशत म्यानपावरका उजुरी छन् । देशमा रोजगारी नपाउँदा विदेश जानु नेपालीहरुको बाध्यता हो । त्यही बाध्यताको फाइदा उठाउँदै ठगि गर्नेहरुकोले नेपालीलाई ठगिरहेका छन् । संविधानमा नै रोजगारीको हकको व्यवस्था गरिएको छ । तर, देशमा रोजगारी नपाउने र पाएको रोजगारीले पनि घर चलाउन मुस्किल हुने भएकाले नेपालीहरु विदेश जान बाध्य छन् ।
६ महिनामा करिब ६ लाखले छोडे देश
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रोजगारीको खोजिमा नेपाल छोड्नेको संख्या करिब ६ लाख रहेको छ । देश अहिले चुनावमय भएको छ । तर, चुनावमा भोट हाल्ने समयमा पनि विदेश जानेहरुको संख्यामा कुनै कमी आउन सकेको छैन । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७१८ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका छन् । विभागको तथ्यांक अनुसार यो अवधिमा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमा ४ हजार ८ सय ६६ जना जीटुजीमार्फत इजरायल, कोरिया तथा बेलायत गएका छन् ।
व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ६४ हजार २६२ जना तथा ३ लाख २५ हजार ४०७ जना म्यानपावर कम्पनीमार्फत रोजगारीका लागि विदेश गएको विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार नेपालबाट गन्तव्य मुलुकको हिसावले खाडी मुलुकहरू, मलेसिया र पछिल्ला वर्षहरूमा जापान, दक्षिण कोरिया तथा युरोपेली देशहरू पनि नेपाली श्रमिकका प्रमुख गन्तव्य बन्दै गएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । विदेशबाट आउने रेमिट्यान्स हरेक महिना बढीरहेको तथ्यांकले देखाएको छ । राज्य विदेशमा जाने श्रमिकको सुरक्षा र उनीहरु ठगिएको विषयमा बखर रहेको श्रम विज्ञ डा. गणेश गुरुङ बताउँछन् । सरकारले विदेशमा जाने श्रमिक ठग्नेहरुलाई र उनीहरुको सुरक्षामा ध्यान दिन नसक्दा वैदेशिक रोजगारीको क्षेत्र असुरक्षित र ठगिखाने भाँडो भएको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस