पछिल्ला ६ महिनामा नेपालले १५२ देशसँग द्विपक्षीय वैदेशिक व्यापार गरेको छ। यसमध्ये ११६ देशसँग व्यापारमा घाटा देखिएको छ भने ३६ देशसँग मात्र नाफा भएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले कुल १० खर्ब ८१ अर्ब ४ करोड ८ लाख ९९ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको थियो। यसमा ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख ८३ हजार रुपैयाँबराबरको सामान आयात गरिएको थियो भने १ खर्ब ४२ अर्ब १ करोड ८० लाख १६ हजार रुपैयाँबराबरको सामान निर्यात गरिएको थियो। यसरी हेर्दा कुल ७ खर्ब ९७ अर्ब ४८ लाख ६७ हजार रुपैयाँको व्यापार घाटा देखा परेको छ।
भन्सार विभागका अनुसार, साउनदेखि पुससम्मको अवधिमा नेपालले सबैभन्दा बढी नाफा डेनमार्कसँग गरेको छ। डेनमार्कमा नेपालले ५१ करोड २ लाख ६३ हजार रुपैयाँको सामान निर्यात गर्दा ९ करोड १० लाख रुपैयाँ आयात गरियो, जसबाट ४१ करोड ८६ लाख ८१ हजार रुपैयाँ नाफा भएको छ। दोस्रो ठूलो नाफा रोमानियासँग भएको छ। रोमानियामा ८ करोड १२ लाख रुपैयाँ निर्यात गर्दा २ करोड २१ लाख ५० हजार रुपैयाँ आयात भयो, जसबाट ५ करोड ९१ लाख ४९ हजार रुपैयाँ नाफा भएको देखियो।
तेस्रोमा स्वीडेन रहेको छ। स्वीडेनमा १८ करोड ७४ लाख ३६ हजार रुपैयाँ निर्यात गर्दा १५ करोड ४२ लाख ५६ हजार रुपैयाँ आयात गरिएको थियो, जसबाट ३ करोड ३१ लाख ८० हजार रुपैयाँ नाफा भएको छ।
त्यसैगरी, नेपालले नाइजेरिया, इराक, नर्वे, अमेरिकन सामोआ, आइसल्याण्ड, र सेन्चेल्ससँग पनि क्रमशः १ करोड ७३ लाख ४३ हजार ,१ करोड ७१ लाख ३० हजार, १ करोड ६८ लाख ९० हजार,१ करोड ६५ लाख ४० हजार, १ करोड २५ लाख १६ हजार, १ करोड ११ लाख ६० हजार नाफा आर्जन गरेको छ।
घाटा कमाउने देशमा भने भारत शीर्ष स्थानमा छ। भारतबाट ५ खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख ८२ हजार रुपैयाँको सामान आयात गर्दा नेपालले १ खर्ब १५ अर्ब ७४ करोड ३६ लाख ८८ हजार रुपैयाँ मात्र निर्यात गरेको छ, जसबाट भारतसँग ४ खर्ब १६ अर्ब ७१ करोड ३० लाख ९४ हजार रुपैयाँ घाटा देखिएको छ।
चीन दोस्रो ठूलो घाटा भएको देश हो। चीनबाट १ खर्ब ९६ अर्ब ९४ लाख ६ हजार रुपैयाँ आयात गर्दा नेपालले ६४ करोड ९ लाख १५ हजार रुपैयाँ मात्र निर्यात गरेको छ, जसबाट १ खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख ९० हजार रुपैयाँ घाटा भएको छ।
तेस्रोमा अर्जेन्टिना परेको छ। अर्जेन्टिनाबाट ५४ अर्ब ४४ करोड ८ लाख ६ हजार रुपैयाँको आयात गर्दा नेपालले २४ लाख १९ हजार रुपैयाँ निर्यात गरेको थियो, जसबाट ५४ अर्ब ४३ करोड ८३ लाख ८७ हजार रुपैयाँ घाटा देखा परेको छ।यस्तै युएईसँग ३० अर्ब ८७ करोड ८४ लाख ३३ हजार, इण्डोनेशियासँग ९ अर्ब ८१ करोड ९८ लाख ९५ हजार, थाइल्याण्डसँग ९ अर्ब १० करोड ७१ लाख ६१ हजार, मलेसियासँग ५ अर्ब ९४ करोड १४ लाख ३५ हजार, अष्ट्रेलियासँग ५ अर्ब १५ करोड ३९ लाख १७ हजार, ब्राजिलसँग ५ अर्ब ७ करोड ६८ लाख ५९ हजार र ब्रुनाई दारुस्सलामसँग ४ अर्ब ५७ करोड २७ हजार रुपैयाँबराबरको व्यापार घाटा नेपालले गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस