बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको कुल निक्षेप अर्थात् बचत खाताको संख्या छ करोड नाघेको छ । चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूमा खोलिएको कुल निक्षेप खाता संख्या ६ करोड १७ लाख ७९ हजार ८७२ पुगेको हो ।
गत आवको सोही अवधिमा कुल निक्षेप खाता संख्या ५ करोड ७९ लाख २५ हजार ७९५ वटा मात्र थियो । राष्ट्र बैंकका अनुसार गत साउनदेखि पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूमा कुल निक्षेप खाता संख्या ५ करोड ३० लाख २३ हजार ४३८ वटा छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल ४ करोड ९६ लाख ५१ हजार १३७ वटा मात्र निक्षेप खाता सञ्चालनमा थिए ।
यसैगरी विकास बैंकहरूमा सञ्चालनमा कुल निक्षेप खाताको संख्या चालू आवको पछिल्लो छ महिनाको अवधिमा ७६ लाख ८९ हजार ६२६ वटा पुगेको छ । गत आवका सोही अवधिमा विकास बैंकहरूमा कुल ७३ लाख ३९ हजार २५६ वटा मात्र निक्षेप खाता सञ्चालनमा थिए । फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा १० लाख ६६ हजार ८०८ वटा पुगेको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल ९ लाख ३५ हजार ४०२ वटा बचत खाताहरू सञ्चालनमा थिए ।राष्ट्र बैंकका अनुसार चालू आवको दोस्रो त्रैमासमा बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या ६ करोड १७ लाख नाघे पनि कुल कर्जा खाताको संख्या भने २० लाखको हाराहारीमा रहेको छ ।
चालू आवको पुस मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या २० लाख २४ हजार २८० वटा पुगेको छ । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा कुल १९ लाख २५ हजार ७२४ वटा कर्जा खाता सञ्चालनमा थिए । बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल कर्जा खाता संख्यामध्ये वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा १६ लाख ७८ हजार ४०६ वटा पुगेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा १६ लाख ५ हजार ८१५ वटा कर्जा खाता सञ्चालनमा थिए । विकास बैंकहरूमा भने चालू आवको पुस मसान्तसम्ममा कुल २ लाख ६८ हजार ८५९ वटा कर्जा खाता सञ्चालनमा छन् ।
गत आवको सोही अवधिमा विकास बैंकहरूमा कुल २ लाख ७५ हजार ९५० वटा कर्जा खाताहरू सञ्चालनमा रहेका थिए । यसैगरी फाइनान्स कम्पनीहरूमा भने चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल ७७ हजार १५ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका छन् । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल ४३ हजार ९५९ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस