नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा देखिने प्रचार र वास्तविक धरातलीय अवस्थाबीच ठूलो अन्तर रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले पछिल्ला दिनहरूमा देखिएका ‘स्टन्ट’ र ‘हल्ला’को वास्तविक प्रभावलाई जनताले बुझिसकेको उल्लेख गरे।
उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई यस्ता भ्रमपूर्ण प्रचारको तर्कसहित खण्डन गर्न र आगामी निर्वाचनतर्फ केन्द्रित हुन निर्देशन दिए। सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’को संज्ञा दिँदै प्रचण्डले त्यसको प्रभाव फिल्डमा नरहेको स्पष्ट पारे। प्रचण्डले उपत्यका लगायत विभिन्न क्षेत्रमा जनताले पुराना र अनुभवी नेताहरूलाई राम्ररी चिनेको र अब स्टन्टबाज तथा हल्लाखोर प्रवृत्तिबाट भ्रमित नहुने अवस्थामा पुगेको दाबी गरे। राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक उपाय भएको उनको तर्क छ।
प्रचण्डले भने,‘मैले के देखिराखेको छु भने अहिले सोसल मिडियाबाट भएको प्रचारबाजी अनुसार फिल्डमा छैन । सोसल मिडियावाला, स्टन्टवाला भन्ने गरेका छौं हामीले । पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ । तपाईं उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन । नयाँनयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ। भ्रम मुक्त भए यहाँ त, यहाँ लडेर त हेरे नि नेताहरूलाई के गरे के गर्न सक्दा रहेछन्, सक्दा रहेनछन् भन्ने हेरिसक्या हुनाले त्यस्ता ठाउँमा यी सब स्टन्टबाजहरू, यी हल्लाखोरहरू हुन् भन्ने बुझे जनताले । अब जहाँ बुझ्न पा छैनन् विचरा त्यहाँ चाहिँ फेरि त्यसको प्रभाव देखिएको छ । त्यसकारण त्यो प्रभावलाई पनि तर्कद्वारा खण्डन गरेर हामीले स्थापित गर्नु छ । सबै कमरेडहरू यो चुनौतीपूर्ण अवसर नेपाली कम्युनिस्ट पार्टीलाई प्राप्त छ । हामीले धेरै मेहनत गरेर अप्ठ्यारो बेलामा पनि हामीले यो देशलाई बचाउने हिसाबले, राजनीतिलाई सहजीकरण गर्ने हिसाबले भूमिका खेल्ने अवसर पायौँ, हामीले त्यो भूमिका खेल्यौँ र अहिले निर्वाचनतर्फ देश केन्द्रित छ। यद्यपि कतिपय पार्टीहरूले यो निर्वाचन नभइदिए हुन्थ्यो, निर्वाचन सारे हुन्थ्यो, संसद पुनर्स्थापना गरे हुन्थ्यो भन्ने पनि थिए अझै पनि भन्छन् ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस