दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा ठूलो भूकम्प गएको छ । बुधबार साँझ (स्थानीय समय अनुसार) एक मिनेटको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प (सेस्मिक डबल क्लस्टर) गएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको महसुस गरिएको ३९ सेकेन्ड लगत्तै ७.५ म्याग्निच्युडको अर्को मुख्य र विनासकारी भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु भेनेजुएलाको तटीय सहर मोरोनभन्दा केही किलोमिटर टाढा र जमिनको सतहभन्दा मात्र १० देखि १३ किलोमिटरको कम गहिराइमा रहेको थियो । कम गहिराइका कारण यसको धक्का निकै संवेगात्मक र विनाशकारी महसुस गरिएको छ ।
भूकम्पका कारण भेनेजुएलाको राजधानी काराकास सबैभन्दा बढी प्रभावित भएको छ । काराकासको धनाढ्य वर्ग बस्ने “अल्टामिरा“ क्षेत्रमा एउटा २२ तले अग्लो आवासीय भवन पूर्ण रूपमा भत्किएको छ । दर्जनौँ अन्य भवनहरू र बैंकका शाखा कार्यालयहरु पनि ढलेका छन्। भग्नावशेषमा मानिसहरू फसिरहेका आशंकामा उद्धार कार्य तीव्र पारिएको छ । काराकासस्थित सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलको छतको भाग भत्किँदा उडानहरू पूर्ण रूपमा बन्द गरिएका छन् । भूकम्प लगत्तै काराकास लगायतका धेरै सहरहरूमा विद्युत आपूर्ति र इन्टरनेट सेवा ठप्प भएको छ ।
भूकम्प लगत्तै प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले क्यारिबियन क्षेत्रका मुलुकहरू—पुएर्टो रिको, भर्जिन आइल्याण्ड र अरुबा टापुहरूमा समुद्री लहर बढ्न सक्ने भन्दै ‘सुनामी अलर्ट’ जारी गरेको थियो। यद्यपि, स्थिति सामान्य देखिएपछि करिब एक घण्टा पछि सो चेतावनी फिर्ता लिइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस