पाकिस्तानले अफगानिस्तानका विभिन्न सहरमा भीषण हवाई आक्रमण गरेको छ । काबुल, कन्धार र पक्तिका सहरलाई लक्षित गर्दै पाकिस्तानले मध्यराति हवाई आक्रमण गरेको हो । राजधानी काबुलभरि विस्फोट र गोलीबारी समेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
आफ्ना सैनिक माथि आक्रमण भएपनि पाकिस्तानले त्यसको प्रतिकार स्वरुप उक्त आक्रमण गरेको जनाएको छ । पाकिस्तान सरकारले उक्त आक्रमणलाई आफ्ना सैनिकमाथि भएको उक्साहटरहित आक्रमणको जवाफस्वरूप गरिएको प्रतिकारात्मक कारबाही भएको दाबी गरेको छ ।
अफगानिस्तानको नानगरहार प्रान्तस्थित शरणार्थी शिविरमा पाकिस्तानतर्फबाट प्रहार गरिएका रकेट लाग्दा कम्तीमा नौ जना घाइते भएको तालिबान प्रशासनका स्थानीय अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये सात महिला र दुई पुरुष रहेका छन् भने एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उक्त शिविरमा पाकिस्तानबाट फर्किएका अफगान नागरिक बस्दै आएका थिए ।
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले देशका सशस्त्र बल पूर्ण रूपमा सक्षम रहेको र कुनै पनि आक्रामक प्रयासलाई कडा जवाफ दिइने बताएका छन् । उनले सम्पूर्ण राष्ट्र सशस्त्र बलसँग एकताबद्ध रहेको उल्लेख गर्दै देशको सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने स्पष्ट पारे । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पनि सैन्य कारबाहीलाई व्यापक र निर्णायक प्रतिक्रिया भन्दै समर्थन जनाएका छन् । रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले सामाजिक सञ्जालमार्फत अब खुला युद्ध को अवस्था आएको चेतावनी दिएका छन् ।
पाकिस्तानी आक्रामणमा परी १३३ जना अफगान तालिबान लडाकु मारिएको र दुई सयभन्दा बढी घाइते भएका छन् । २७ वटा तालिबान सैन्य चौकी ध्वस्त पारिएको र नौ वटा नियन्त्रणमा लिएको पाकिस्तानले जनाएको छ । साथै ८० भन्दा बढी ट्यांक, तोप र बख्तरबन्द सवारी साधन नष्ट गरिएको बताएको छ ।
काबुलमा मध्यराततिर करिब १ः५० मिनेटमा ठूलो विस्फोट सुन्निएको र त्यसपछि केन्द्रीय क्षेत्रमा गोलीबारी चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बिहानसम्म स्थिति सामान्यजस्तै देखिए पनि दुवै पक्ष उच्च सतर्कतामा रहेको बताइएको छ ।
दुवै देशबीच गत असोजमा नाजुक युद्धविराम सहमति भएको थियो । तर त्यसयता पनि सीमाक्षेत्रमा पटक–पटक झडप हुँदै आएको छ । गत साता पाकिस्तानले सीमावर्ती क्षेत्रमा रहेका कथित उग्रवादी शिविरमाथि हवाई आक्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको तालिबानले दाबी गरेको थियो । पाकिस्तानले भने ती आक्रमण आत्मघाती विस्फोटको घटनापछि गरिएको र उग्रवादी लुक्ने स्थान लक्षित गरिएको बताएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस