Like us!
Follow us!
Connect us!
Watch us!

इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी, इरानकाे खण्डन

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, ०७ : ३२ मा प्रकाशित

इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी, इरानकाे खण्डन

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका छन्। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले ट्रुथ सोसलमा लेखेका छन्- अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका छन् ।

यसबाट इरानका जनतालाई, अमेरिकनहरुलाई र विश्वका धेरै देशका मानिसहरुलाई ‘न्याय’भएको टिप्पणी समेत गरेका छन् । यसअघि रोयटर्स समाचार एजेन्सी र इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका थिए । फक्स न्युज च्यानलले पनि अली खामेनी मारिएको समाचार लेखेको छ । उनीहरुले इजरायलका एक ‘बरिष्ठ’ अधिकारीलाई उद्धृत गर्दै अली खामेनी मारिएको समाचार लेखेका हुन् ।

इजरायल र अमेरिकाले संयुक्तरुपमा गरेको आक्रमणबाट अली खामेनीको निवास पूर्णरुपमा तहसनहस भएको स्याटेलाइट तस्वीरमा देखिन्छ ।
ट्रुथ सोसलमा खामेनी मारिएको लेख्नुअघि ट्रम्पले ‘इरानका धेरै नेतृत्व तहका व्यक्ति हटिसके’ भन्ने अभिव्यक्ति दिएका थिए।

राष्ट्रपति ट्रम्पले एबीसी न्युजसँगको टेलिफोन अन्तर्वार्तामा अमेरिकी आक्रमणले ‘पहिले नै ठूलो क्षति पुर्‍याइसकेको’ र इरानको नेतृत्व तहका ‘धेरै व्यक्ति हटिसकेको’ बताएका थिए ।

इरानको खण्डन

इजरायल र अमेरिकामा आधारित अपुष्ट रिपोर्टहरूमा उनी मारिएको दाबी गरिएको छ। तर इरानले भने इजरायल र अमेरिकाको आक्रमणमा परेका आफ्ना सर्वोच्च नेता अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता ‘सुरक्षित र स्वस्थ’ रहेको दाबी गरेका हुन् ।

इरानका सर्वोच्च नेताको कार्यालयका जनसम्पर्क प्रमुखले पनि खामेनी मारिएको भन्ने समाचार आएपछि त्यसलाई देशका शत्रुहरूको “मानसिक युद्ध”को संज्ञा दिएको एलजजिरा न्युज च्यानलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको