राष्ट्रिय मानव अधिकार आयोगले इजरायल अमेरिकी आक्रमणका कारण मध्यपूर्वका मुलुकहरूमा देखिएको अवस्था र नेपाली नागरिकहरूलाई पारेको प्रभावबारे गम्भीर ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै युद्ध प्रभावित मुलुकमा रहेका नेपालीको सुरक्षा र उद्धारमा ध्यान दिन आग्रह समेत गरेको छ ।
‘युद्धका कारण नेपालीहरूमा पर्न जाने असुविधाप्रति आयोग गम्भीर चासो र चिन्ता प्रकट गर्दछ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राज्य नागरिकको अविभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्ने विषय आयोगले स्मरण गराएको छ ।
‘यस विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरूमा रहेका आफ्ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्याङ्क सङ्कलन गर्ने, पछिल्लो वस्तुस्थितिको बारेमा आवश्यक जानकारी लिने र जोखिममा रहेका नागरिकहरूलाई उद्दार गरी स्वदेश फर्काउन तत्काल पहलकदमी लिनुपर्दछ,’ आयोगले भनेको छ । सरकारले आफ्ना कुटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घ/सङ्गठनहरूसँग समेत समन्वय र सहकार्य गर्नु आवश्यक रहेको आयोगको भनाइ छ ।
‘अत: युद्धग्रस्त तथा प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणको लागि तथ्याङ्क सङ्कलन गरी जोखिमको आँकलन गर्न र अतिप्रभावित क्षेत्रमा रहेका नागरिकहरूको उद्धार गरी स्वदेश फर्काउन आयोग नेपाल सरकार तथा विदेशस्थित कुटनीतिक नियोगहरूलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । साथै, नेपाली नागरिकको सुरक्षा र उद्धारका कार्यमा आवश्यक समन्वय र सहयोग गर्न आयोग ती देशहरूमा रहेका गैरआवासीय नेपाली सङ्घ/सङ्गठनहरूलाई समेत आयोगले अनुरोध गरेको छ ।
अमेरिका र इजरायलले संयुक्त रुपमा थालेको सैन्य कारबाहीपछि इरानले पनि जवाफ फर्काएको छ । अरानी सर्वोच्च नेताको निधनपछि अहिले इरानले जवाफ फकाईरहेको हो । यसैबीच लाखौंको संख्यामा नेपाली समेत रहेका देशहरूमा चिन्ता थपिँदै गएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस