पछिल्लो राजनीतिक घटनाक्रम पछि सेयर बजारमा दुई कारोबार दिन कारोबार भएको छ । चुनावबाट फेरिको परिस्थिति पछिको पहिलो कारोबार दिन सेयर बजारमा उच्च वृद्धि भएको थियो । जसमा जम्मा ३ मिनेट मात्रै कारोबार भएको थियो भने ६ प्रतिशतको वृद्धि पनि दिनभरको कारोबार नै रोकिएको थियो ।
सोमबार सेयर बजारमा लगातार तीन सर्किट लागेपछि बजारमा त्यो दिन कसैले पनि सेयर खरिद बिक्री गर्न नै पाएनन् । अघिल्लो दिन उच्च अंकको वृद्धि भएको बजार मंगलबार (आज) भने घटेर कारोबार भएको छ । आज सेयर बजार ३२ अंकले घटेको हो । आज बजार घटे पनि उच्च रकमको कारोबार भएको छ । आज सेयर बजारमा साढे २१ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो दिन सर्किट लागेर कारोबार बन्द भए पनि आजको सेयर बजारलाई भने लगानीकर्ताहरुले करेक्सनका रुपमा हेरेका छन् ।
निर्वाचन पछि पहिलो पटक सोमबार खुलेको बजारमा ६ प्रतिशत अर्थात् १६२.९३ अंकले बढेको थियो । चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत मात्रै होइन दुइ तिहाइन आउने जस्तो अवस्था देखिएको छ । यसले पनि लगानीकर्ताहरु उत्साहीत भएका छन् । जसले गर्दा बजार बढी रहेको छ । अघिल्लो दिन उच्च अंकको वृद्धि पछि आज करेक्सन भएको र कारोबार रकम वृद्धि भएको हो । आज करेक्सन भए पनि यो पटकको बुलमा सेयर बजारले अहिलेसम्मको उच्च ३२०० विन्दुको रेकर्ड समेत ब्रेक गर्ने सम्भावना रहेको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । सेयर बजारका लागि नेपाल राष्ट्र बैंकले गर्नु पर्ने सुधार क्रमिक रुपमा भइरहेका छन् भने नेपाल धितोपत्र बोर्डले पनि सुधारका लागि काम गरिरहेको छ । यो अवस्थामा स्थिर सरकार बन्ने निश्चित भएसँगै बजारमा थप सकारात्मक देखिने रौनियारको भनाइ छ । अहिले बैंकको ब्याजदर निकै तल्लो बिन्दुमा रहेको छ भने अन्य सूचक पनि बजारमैत्री नै रहेका छन् । सेयर बजार लगातार बढ्ने भन्दा पनि बीच बीचमा करेक्सन हुने उनको भनाइ छ ।
अहिले नेपाल राष्ट्र बैंकमा प्रर्याप्त मात्रामा विदेशी मुद्रा सञ्चित रहेको छ । त्यसै बैंकहरुमा तरलता पनि प्रशस्त मात्रामा रहेको छ । अर्को तर्फ रास्वपाले आफू सरकारमा गए पछि पुँजी बजारका लागि सुधारका लागि गर्नु पर्ने बाचा पनि सार्वजनिक गरेको छ । जहाँ लगानीकर्ताको हित संरक्षण देखि सेवोनको पुन संरचनासम्मका विषयहरु समावेश छन् । यी विषयहरु कार्यान्वयन गरेको खण्डमा बजार निकै माथिल्लो विन्दु पुग्ने विश्लेषकहरुले बताउने गरेका छन् ।
सेयर बजारको सुन्दरता नै बजार घटबढ भएकाले आजको गिरावट नभएर करेक्सन मात्रै भएको लगानीकर्ताहरुको भनाइ छ । चुनाव अघि र चुनाव पछिको बढेको बजारमा नाफा सुरक्षित गर्न खोज्दा आज बजार घटेको र यो सामान्य करेक्सन मात्रै भएको नेपाल सेयर लगानीकर्ता संघका कार्यवहाक अध्यक्ष तारा फुल्लेलको भनाइ छ । ‘घटबढ सेयर बजारको सुन्दरता हो । अहिले स्थिर सरकार बन्ने भए पछि सबैमा सकारात्मक प्रभाव देखिएको छ । अघिल्लो दिन सकारात्मक सर्किट लाग्यो । आज घटेको भन्दा पनि करेक्सन भएको हो,’ उनले भने । चुनाव अघिदेखि केही मात्रामा बढेको र सोमबार पनि बढेकाले लगानीकर्ताहरुले केही मात्रामा प्रोफिट बुक पनि गरेकाले बजारमा करेक्सन देखिएको उनले बताए । ‘चुनाव पछि सबै अवस्था सकारात्मक देखिएको छ । यो हिसाबले बजारले गति लिने विश्वास गर्न सकिन्छ,’ उनले भने । पुँजी बजार मात्रै नभएर समग्र अर्थतन्त्र नै सुधार हुने विश्वास गरिएको फुल्लेलको भनाइ छ ।
चुनावहरुमा कुनै एक पार्टीको बहुमत समेत नआउने अवस्थामा यो पटक एउटै पार्टीको दुई तिहाइ आउने अवस्था देखिएकाले बजारमा सुधार देखिएको अवस्था छ । रास्वपाले एकल रुपमा सरकार बनाउने र उसलो सर्वाजनिक गरेको वाचापत्रमा उल्लेख गरिएका विषयहरु कार्यान्वयन हुने र बजारका लागि सकारात्मक हुने लगानीकर्ताहरुको विश्वास छ । राजनीतिक परिवर्तनका कारण बजारका लगानीकर्ताहरुको मनोबल बढेको र त्यसैको प्रभावले बजारले उच्च विन्दुको रेकर्ड समेत कायम गर्ने अवस्था रहेको लगानीकर्ताहरुले बताएका छन् ।
आज सेयर बजारको गिरावट करेक्सन मात्रै भएको नेपाल सेयर धनीसंघका अध्यक्ष घनश्याम पाण्डेले बताए । आज परिसूचक घटे पनि कारोबार रकम उच्च भएकाले बजारमा सकारात्मकता थपेको उनको भनाइ छ । बजारमा करेक्सन भएर किन्ने मौका मिलेको उनले बताए । ‘चुनाव पछिको पहिलो दिन बजार उच्च वृद्धि हुँदा कसैले पनि खरिद बिक्री गर्न पाएनन् आज सेयर किन्ने मोका पनि मिल्यो,’ उनले भने ।
रास्वपाले धितोपत्र ऐन, २०६३ मा संशोधन गरी नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने बाचा गरेको छ । यो पुँजी बजारको नियाम निकाय बोर्डमा हुने राजनीतिक हस्तक्षपले पनि बजारले गति लिन नसकेको आवाजहरु यस अघि देखिनै आइ नै रहेका थिए । रास्वपाले बोर्डको संरचना नै पुनर्संरचना गरी यसलाई दक्ष जनशक्तिसहितको पूर्ण स्वायत्त निकाय बनाउने उसको योजना छ। जसले बजारको नियमनलाई कडाइ र निष्पक्ष बनाउनेछ ।
त्यस्तै रास्वपाले सरकारी स्वामित्वमा रहेका नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को पुनर्संरचना गरी निजी क्षेत्रको रणनीतिक साझेदारी भित्र्याउने रास्वपाको लक्ष्य छ । त्यस्तै बजारमा तरलताको अभाव हुन नदिन रास्वपाले ‘इन्फ्रास्ट्रक्चर’ तयार गरी इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ, फ्युचर्स, र अप्सन जस्ता आधुनिक वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गर्ने योजना अघि सारेको छ । यसले नेपाली सेयर बजारलाई छिमेकी मुलुक र अन्तर्राष्ट्रिय बजारकै स्तरमा पुर्याउने लक्ष्य राखेको छ ।
यी लगायत रास्वपाले गरेका बाचाहरु पुरा गर्ने दिशामा मात्रै अघि बढेको खण्डमा मात्रै पनि नेपालको पुँजी बजारले निकै फड्को मार्ने निश्चित छ । जसको छनक सोमबारको बजारमा देखिएसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस