Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिमबाट ११ जना समानुपातिक सांसद बन्ने, कुन दलबाट को-को छनोट ?

अर्थ संसार

सोमबार, ०२ चैत्र २०८२, ११ : ४० मा प्रकाशित

सुदूरपश्चिमबाट ११ जना समानुपातिक सांसद बन्ने, कुन दलबाट को-को छनोट ?

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत थ्रेसहोल्ड पार गरेका राजनीतिक दलहरूले समानुपातिकतर्फ सांसद बनाउन बन्दसूचीबाट छनोट गरी निर्वाचन आयोगमा नाम बुझाएका छन्। दलहरूले आयोगमा पेश गरेको सूचीमा सुदूरपश्चिम प्रदेशका ११ जनाको नाम समावेश गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमबाट सबैभन्दा धेरै ६ जनाको नाम पठाएको छ। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ३ जना र नेपाली कांग्रेस तथा नेकपा (एमाले)ले एक–एक जनालाई समानुपातिकतर्फ सांसद बनाउन आयोगमा सिफारिस गरेका छन्।

प्रत्यक्ष निर्वाचनमा प्रदेशका १६ मध्ये १० सिट जितेको रास्वपाले समानुपातिकतर्फ पनि सुदूरपश्चिमका ६ जनालाई समेटेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले उक्त नामहरू टुंगो लगाएर निर्वाचन आयोगमा पठाएको हो। सूचीअनुसार खस–आर्य महिला कोटामा कञ्चनपुरकी प्रतिभा रावल पहिलो नम्बरमा परेकी छन्। सोही क्लस्टरमा डडेल्धुराकी आकृति अवस्थी, अछामकी टीका संग्रौला र रत्ना थापा पनि समावेश छन्। संग्रौला र थापा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने गरी सांसद बन्न लागेका हुन्। त्यस्तै, थारु महिला क्लस्टरबाट कैलालीकी करिश्मा कठरिया र कञ्चनपुरकी गीता चौधरीको नाम पनि रास्वपाले पठाएको छ।

प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेको नेकपाले भने समानुपातिकतर्फ सुदूरपश्चिमबाट ३ जनालाई संसद्मा पठाउने तयारी गरेको छ। थारु महिला क्लस्टरबाट कञ्चनपुरकी निराशा चौधरी, अपाङ्गता क्लस्टरबाट कैलालीका प्रेम बयक र दलित क्लस्टरबाट बझाङका गणेशबहादुर बिकको नाम आयोगमा सिफारिस गरिएको छ। यता प्रत्यक्षतर्फ प्रदेशमा ३/३ सिट जितेका नेपाली कांग्रेस र नेकपा (एमाले)ले भने समानुपातिकतर्फ सुदूरपश्चिमबाट एक–एक जनामात्रै पठाउने भएका छन्। कांग्रेसले दलित महिला कोटाबाट डडेल्धुराकी हरिनादेवी कामीलाई सिफारिस गरेको छ भने एमालेले थारु क्लस्टरबाट कञ्चनपुरका कृपाराम रानाको नाम आयोगमा बुझाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको