सरकार निर्माण हुनु भन्दा अघि उल्लेख्य रुपमा बढेको सेयर बजार नयाँ सरकार बनेपछि भने लगातार रुपमा ओरालो यात्रामा देखिएको छ । नयाँ सरकार बने पछिको दोस्रो दिन पनि सेयर बजारमा उल्लेख्य गिरावट आयो । गत शुक्रबार नयाँ सरकार बन्यो । शुक्रबार सेयर बजार बन्द रहन्छ । शनिबार पनि सार्वजनिक बिदा भएका कारणल बजार बन्द नै रह्यो । नयाँ सरकार बनेपछि सेयर बजारमा पहिलो कारोबार नै आइतबार भएको थियो । पहिलो दिन ७१ अंकले घटेको बजारमा आज पनि ४७ अंकको गिरावट देखियो ।
सोमबार सेयर बजारमा ४७ अंक माथिको गिरावट देखियो । जुन अघिल्लो दिनको भन्दा करिब २ प्रतिशतको गिरावट हो । अघिल्लो दिन पनि सेयर बजारमा २.४० प्रतिशतको गिरावट आएको थियो । नयाँ सरकार बने पछि बढ्ने आंकलनकाबीच बजारले भने उल्टो नजिता देखाइरहेको हो । अहिले बनेको सरकार एक पार्टीको बनेको छ । जुन सरकारप्रति धेरैको आशा र अपेक्षा गरिएको छ । तर, सेयर बजारले भने अहिलेको सरकारलाई हरियालीका साथ स्वागत गर्न सकेन् । आइतबारको तुलनामा सोमबार सेयर बजारको कारोबार पनि घटेको छ । आइतबार १५ अर्ब माथिको कारोबार भएको बजारमा आज भने १२ अर्ब ९६ करोड माथिको कारोबार भएको छ ।
एकल बहुमत अझ दुइतिहाइ नजिकको सरकार बने पछि सबै कुरामा स्थिरता हुने र बजार बढ्ने अपेक्षा आम रुपमा थियो । तर, अवस्था उल्टो भयो । नयाँ सरकारले जुन रुपमा धरपकड गर्यो यो कारणले पनि बजार घटेको कतिपयको भनाइ छ । फेरि पनि आन्दोलन हुने चिन्ताका कारणले पनि बजार घटेको कतिपयको भनाइ छ । अहिले बजार घट्नुको मुख्य कारणल राजनीतिक भएको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । अहिले स्थिर सरकार भए पनि आन्दोलनको कारण बजारमा केही गिरावट आएको उनको भनाइ छ । बजारका लागि सबै सूचक सकारात्मक रहेको अवस्थामा केही समयमा राजनीतिक अस्थिरता हट्दै जाँदा बजारले सकारात्मक गति लिने उनको भनाइ छ । ‘अहिलेको सरकारले सेयर बजारका विषयमा स्पष्ट नीति लिएको छ । अहिले देखिएको आन्दोलन बन्द हुने बित्तिकै बजाले गति लिन्छ,’ उनले भने ।
यता सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले भने स्थिर सरकारले जुन रुपमा लगानीकर्तालाई आश्वासन गर्नु सक्नु पर्ने थियो त्यो नहुँदा बजाले गति लिन नसकेको बताए । सेयर बजारका लगानीकर्ताको अपेक्षालाई सम्बोधन गर्न नसक्नु अहिले पुँजी बजारमा देखिएको उनको भनाइ छ । लगानीकर्ताको मनोबाल बढाउने खालको योजना नआउँदासम्म बजारले गति लिन सक्ने अवस्था नरहेको उनले बताए । ‘सेयर बजारका लागि सरकारले ठोस योजना अघि सार्नु पर्छ । अहिले पनि सडक आन्दोलन भइरहेकाले लगानीकर्ताहरु अहिले पर्खर हेरको नीतिमा छन्,’ उनले भने । बजारमा क्रमशः यो काम गर्छौँ भनेर सरकाले भनेको अवस्थामा लगानीकर्ताको मनोबल बढ्ने र बजारमा सकारात्मक प्रभाव देखिने उनको भनाइ छ ।
राजनीतिक कारणले बढेको बजार राजनीतिक कारणले गर्दा नै घटेको नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन्द्र कँडेकले बताए । केही अंक बढेमा बढ्यो र घट्यो भने घटेर सकियो भन्ने परिपाटि पनि रहेको उनको टिप्पणी छ । ‘अहिले बजार दुई चार प्रतिशतले घटेको हो । अंक मात्रै धेरै हो । चिन्ता गरेर बजार सकियो भन्नेहरु पनि गलत हुन् । एकदमै समृद्ध भयो बजार फड्को मार्छ भन्नेहरु पनि गलत हुन्,’ उनले भने ।
राजनीतिक कारणले भएको गिरावटलाई बजारको स्थायित्वसँग जोड्न नमिल्ने उनको भनाइ छ । सरकारले केही गर्न खोजेको अवस्थामा ठूला लगानीकर्ताको पैसा पनि निर्मलिकरण गर्नका लागि अनुसन्धान गर्न थालेमा बजार केही समय प्यानिक हुने उनको भनाइ छ । सामान्य रुपमा सतहमा केही दिन हल्ला गरियो । तर अन्य संरचनाले सहयोग गरेन भने बजार माथि जाने कुरालाई रोक्न सक्ने उनको भनाइ छ ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले भने यसलाई करेक्सनका रुपमा लिएको बताएका छन् । ‘केही दिनको लगातारको वृद्धि पछिको बजारमा करेक्सन देखिएको छ । यो लामो समय जाँदैन,’ उनले भने । त्यस्तै सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा पुँजी बजारको विषय समावेश भएका कारणले पनि बजार घटेको उनको भनाइ छ । अर्को तर्फ स्थिर सकार बने पनि सडकमा आन्दोललन पनि भइरहेकाले लगानीकर्तामा केही अन्यौलता देखिएको उनी बताउँछ । अहिलेको आन्दोलन केही समयमा मथ्थर हुने र बजारले गति लिने उनको विश्वास छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस