वाणिज्य बैंकहरूमा निक्षेप संकलनले नयाँ उचाइ छोएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार चैत २० गतेसम्म आइपुग्दा बैंकहरूमा जम्मा भएको कुल निक्षेप ७८ खर्ब ३४ अर्ब पुगेको हो । फागुन मसान्तको तुलनामा निक्षेपमा उल्लेख्य वृद्धि हुनुले सर्वसाधारण र संस्थाहरूको बैंकप्रतिको विश्वास र बजारमा पैसा भित्रिने क्रम बढेको संकेत गर्छ ।
निक्षेपमा उत्साह देखिए पनि बैंकहरूबाट हुने कर्जा प्रवाह भने निकै सुस्त देखिएको छ । हालसम्म बैंकहरूले कुल ५८ खर्ब ३४ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन्। बैंकहरूमा पैसा थुप्रिने तर बजारमा ऋणको माग नहुने अवस्थाले गर्दा बैंकहरूसँग लगानी योग्य रकम (तरलता) प्रचुर मात्रामा थुप्रिएको छ । यसले एकातिर बैंकहरूको ब्याज खर्च बढाएको छ भने अर्कोतिर अर्थतन्त्र चलायमान हुन नसकेको तर्फ संकेत गर्छ ।
कर्जा र निक्षेपको सन्तुलन मिलाउने ’सीडी रेसियो’मा पनि ठूलो गिरावट आएको छ । राष्ट्र बैंकले बैंकहरूलाई ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरेर ऋण दिन पाउने सुविधा दिएको भए तापनि अहिले यो औसतमा ७३.७३ प्रतिशतमा झरेको छ । कतिपय बैंकहरूको रेसियो ६० प्रतिशतको हाराहारीमा पुगेको छ । यसको सीधा अर्थ बैंकहरूले आफ्नो क्षमताको ठूलो हिस्सा लगानी गर्न नसकी राष्ट्र बैंकमा पैसा थन्क्याउनु परिरहेको छ । बुधबार मात्रै राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ ।
बैंकहरूमा पैसा धेरै र माग कम हुँदा यसको प्रत्यक्ष प्रभाव ब्याजदरमा देखिन थालेको छ । अधिक तरलताका कारण बैंकहरूले निक्षेप र कर्जा दुवैको ब्याजदर घटाउँदै लगेका छन्। यदि बजारमा कर्जाको माग यसै गरी सुस्त रहिरह्यो भने आगामी दिनमा ब्याजदर अझै सस्तो हुने देखिन्छ। यद्यपि, अर्थतन्त्रमा उत्साह भर्नका लागि यो थुप्रिएको पैसा उत्पादनमुलक क्षेत्रमा लगानी हुनु जरुरी देखिन्छ ।
बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुमा मात्रै ७० खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय संस्थाहरुमा ७ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । यो अवधिमा कुल प्रबाह भएको कर्जा मध्ये वाणिज्य बैंकहरुको ५१ खर्ब ९० अर्ब रुपैयाँ र अन्य वित्तीय संस्थाले ६ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस