Like us!
Follow us!
Connect us!
Watch us!

‘कर्सर काठमाडौं बिल्डाथन’ सम्पन्न - एआई र पूर्वीय दर्शन जोड्दै ‘रियल-टाइम वास्तु एप’ बने आकर्षण

अर्थ संसार

विहीबार, ०३ बैशाख २०८३, १२ : ११ मा प्रकाशित

‘कर्सर काठमाडौं बिल्डाथन’ सम्पन्न - एआई र पूर्वीय दर्शन जोड्दै ‘रियल-टाइम वास्तु एप’ बने आकर्षण

अर्बौं डलर भ्यालुएसन भएको विश्वप्रसिद्ध एआई कोडिङ कम्पनी ‘कर्सर’को आयोजनामा ‘कर्सर काठमाडौं बिल्डाथन’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा परम्परागत पूर्वीय दर्शन र आधुनिक आर्टिफिसियल इन्टेलिजेन्सलाई संयोजन गर्दै स्वस्थ जीवनशैली र मानव कल्याण लक्षित नवप्रविधिहरू विकास गरिएको थियो।

यो ह्याकाथन केवल प्राविधिक प्रतिस्पर्धामा सीमित नरही नेपालको मौलिक पहिचानसँग जोडिएका योग, ध्यान र मानसिक स्वास्थ्यलाई प्रविधिसँग कसरी एकीकृत गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो। विश्वभर वेलनेस इकोनोमी विस्तार भइरहेका बेला यस्तो पहल अत्यन्त सान्दर्भिक भएको आयोजकहरूले बताएका छन्। सहभागीहरूलाई प्रोत्साहनस्वरूप कर्सरले सबै सहभागीलाई ५० डलर बराबरको क्रेडिट उपलब्ध गराएको थियो भने उत्कृष्ट परियोजनाका विजेताहरूलाई १ हजार डलर बराबरको कर्सर क्रेडिटसहित १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। ‘स्वस्थ र सुखी जीवन’ थिममा आधारित यस कार्यक्रममा तयार गरिएको ‘रियल-टाइम वास्तु रिपोर्टिङ एप’ विशेष आकर्षण बनेको थियो, जसले क्याडजस्ता जटिल सफ्टवेयरको ज्ञान नभएका सामान्य प्रयोगकर्ताले पनि सजिलै प्रयोग गर्न सक्ने सुविधा प्रदान गर्छ।

यस सफ्टवेयरमा 'ड्र्याग एन्ड ड्रप' गरेर सजिलै घरको नक्सा र फर्निचर लेआउट डिजाइन गर्न सकिन्छ। डिजाइन गर्दागर्दै यसमा रहेको एआईले रियल-टाइममा 'वास्तु स्कोर' प्रदान गर्दछ, जसले गर्दा प्रयोगकर्ताले आफ्नो बस्ने ठाउँलाई वास्तु शास्त्रअनुसार सकारात्मक र स्वस्थ बनाउन सक्छन्।  यस एपलाई एक अनुभवी फुल-स्ट्याक प्रोडक्ट इन्जिनियर तथा 'एस्ट्रो-फ्युजन' मार्फत एआईमा आधारित ज्योतिषीय सफ्टवेयर निर्माण गरिरहेका एक व्यावसायिक ज्योतिषीले विकास गरेका हुन्। एकै दिनमा आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स र प्राचीन वास्तु शास्त्रलाई जोडेर यस्तो प्रयोगमैत्री उत्पादन तयार पार्नु यस ह्याकाथनको एक उल्लेखनीय उपलब्धि थियो। आयोजकका अनुसार कार्यक्रममा सिधै कोडिङ सुरु गर्नुअघि समस्याको गहिरो पहिचान र समाधानको प्रमाणीकरणमा जोड दिइएको थियो। आइडिएसन सेसनको नेतृत्व प्रशान्त घिमिरेले गरेका थिए भने जुरी प्यानलमा विभूषण विष्ट, प्रना बज्राचार्य र प्रशिश राजभण्डारी रहेका थिए। कार्यक्रम iBriz.ai ले होस्ट गरेको थियो।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विशाल घिमिरे (टिम कस्मिक कोडर्स), सन्तोष यादव (टिम योगी) र टिम सोमा विजेता बनेका छन्। आयोजकले आगामी दिनमा पनि यस्ता थप कार्यक्रमहरू आयोजना गरिने जानकारी दिँदै प्रविधिप्रेमीहरूलाई डिस्कर्ड मार्फत जोडिन आह्वान गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको