नयाँ सरकार बनेसँगै ओरालो लागेको सेयर बजारको गिरावट अझै पनि रोकिने छाँटकाँट देखिएको छैन । स्थिर र बलियो त्यो पनि एउटा पार्टीको एकल बहुमत त्यो पनि दुई तिहाइको सरकार बनेपछि पुँजी बजारले माथिल्लो विन्दुको रेकर्ड कायम गर्ने अपेक्षा गरिएको थियो । तर, जब नयाँ सरकार बन्यो त्यस पछिका २४ कारोबार दिन मध्ये १३ दिन बजार घटेको छ भने ११ दिन बढेर कारोबार भएको छ । घट्दा बजार उच्च अंकले घटीरहेको छ भने घट्दा भने झिनो अंकले बढ्ने गरेको छ ।
यो २४ कारोबार दिनमा सबै भन्दा ठूलो अंकको वृद्धि भनेको ८३ अंकको वृद्धि हो भने गिरावटमा १०५ अंकले बजार घटेर बन्द भएको थियो । नयाँ सरकार बनेपछिको कारोबारमध्ये २ पटक त सेयर बजारमा ७० अंक भन्दा बढीको गिरावट देखिएको छ । नयाँ सरकार बनेपछि स्थिरता कायम हुने विश्वसामा रहेका लगानीकर्ता सरकारको नीतिकाक कारण लगानी गर्न डराएको अवस्था छ । सरकारले केही व्यवसायीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पुराना राजनीतिक दलका नेताहरुलाई पनि यो सरकारले पक्राउ गर्यो । यी यावत घटनाले बजारले गति लिन नसेको लगानीकर्ताहरुले बताउने गरेका छन् ।
अर्को तर्फ यो सरकारले भाषण गरेको भए पनि नीतिगत रुपमा गर्नु पर्ने सुधारका कामहरु नगरेकाले बजार बढ्न नसकेको लगानीकर्ताहरुको भनाइ छ । सरकार बनेको एक महिनाको अवधिमा पनि सेयर बजारको सुधारका लागि गर्नु पर्ने काम हुन नसकेको लगानीकर्ताहरुले गुनासो गरिरहेका छन् । अहिले आम लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । यो सरकार बन्नु भन्दा अघिल्लो कारोबार दिन चैत १२ गते सेयर बजार बढेर कारोबार भएको थियो । त्यो दिन बजार १४ अंकले बढेको थियो । चैत १३ गते नयाँ सरकार बने पछिको पहिलो कारोबार दिन चैत १५ गते सेयर बजार ७१.०५ अंकले घटेर कारोबार बन्द भयो । त्यस पछिका दिनहरुमा सेयर बजारले खासै हरियाली कायम गर्न सकेको छैन । नयाँ सरकार बन्नु भन्दा अघिल्लो दिनदेखि हालसम्मको अवधिमा सेयर बजार परिसूचक २११.४४ अंकले घटेको छ भने कारोबार रकममा पनि ९ अर्ब ८६ करोड ३८ लाख ७९ हजार ५०६ रुपैयाँ ५४ पैसाले गिरावट आएको छ ।
बालेन सरकार बन्नु भन्दा अघिल्लो दिन सेयर बजार परिसूचक २९५०.१६ विन्दुमा बन्द भएको थियो भने आज (बिहीबार) को कारोबार बन्द हुँदा नेप्से परिसूचक २७३८.७२ विन्दुमा पुगेको छ । त्यस्तै नयाँ सरकार बने पछिको पहिलो कारोबार दिन चैत १५ गते सेयर बजारमा १४ अर्ब ७८ करोड ५ लाख ६ हजार ३५५ रुपैयाँ १० पैसाको कारोबार भएको थियो । आज (बिहीबार) भने बजारमा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँ ५६ रुपैयाँको मात्रै कारोबार भएको छ । नयाँ वर्ष लागेपछि मात्रै पनि पुँजी बजारमा १२८.१५ अंकको गिरावट देखिएको छ । वैशाख २ गते २८६६.८७ विन्दुमा बजार बन्द भएको थियो । नयाँ वर्ष पछि मात्रै पुँजी बजारमा ५ अर्ब ३६ करोड माथिको कारोबारमा गिरावट आएको छ । वैशाख २ गते १० अर्ब २८ करोड माथिको कारोबार भएको बजारमा वैशाख १७ गते (आज) ४ अर्ब ९१ करोड माथिको कारोबार भएको छ ।
सेयर बजारमा निरन्तर गिरावट आउँदा लगानीकर्ताहरु प्यानिकको अवस्थामा रहेका छन् । सरकार स्थिर भए पनि बजारका लागि हुनु पर्ने नीतिहरु बन्न नसकेकाले बजार बढ्न नसकेको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । बजारमा अन्यौलता कायम रहेकाले बजारले गति लिन नसकेको उनी बताउँछन् । पुँजी बजारका लागि आवश्यक पर्ने सबै सूचक सकारात्मक भए पनि नीतिगत रुपमा गर्नु पर्ने काम नहुँदा बजारले गति लिन नसकेको रौनियारले बताए । ‘अहिले पुँजी बजारका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । अन्यौलता बढेको छ । व्यवसायीहरुमाथि धरपकड भइरहेको छ । यसले पनि बजारलाई असर परेको छ,’ उनले भने ।
अहिलेको सरकारले मौखिक रुपमा भाषण गर्ने बाहेक वास्तविक रुपमा गर्नु पर्ने काम गर्न नसकेको उनको बुझाइ छ । ‘अहिले ब्याजदर कम रहेको र बजारमा तरलता पनि प्रशस्त भए पनि लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्न नसकेको अवस्था छ,’ उनले भने । बजारमा आएका नकारात्मक कुराहरु र नीतिक रुपमा गर्नु पर्ने काम नभएकाले बजार घटेको नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलको भनाइ छ । बजारलाई सकारात्मक असर गर्ने खालका नीतिहरु आउन नसक्दा बजारले गति लिन नसकेको उनी बताउँछन् । बजार रातारात बढ्ने भन्दा पनि अर्थतन्त्रको अवस्था अनुसार बढ्ने भएकाले अहिले अर्थतन्त्र संकुचनमा रहेकाले बजार केही सुस्त देखिएको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस