बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन लगातार बढ्ने तर कर्जा प्रवाह नहुने समस्याका कारण बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनको चुनौती थपिएको छ। हाल प्रणालीमा कुल १२ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएर बस्दा ब्याजदर निकै सस्तो भएको छ भने निजी क्षेत्र अझै 'पर्ख र हेर' को अवस्थामा रहँदा व्यावसायिक आत्मविश्वास फर्कन सकेको छैन।
गत फागुनको निर्वाचनपछि चैत १३ गते बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भए पनि निक्षेप थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले हालसम्मकै उच्च झन्डै ८ खर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ। केन्द्रीय बैंकले चैत १५ गतेयता मात्रै ७ खर्ब ८५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।
बैंकले चैत महिनामा ५ पटक (४० अर्ब, २५ अर्ब, ४० अर्ब, १२५ अर्ब र ३५ अर्ब) र वैशाख महिनामा ८ पटक (४० अर्ब, १०० अर्ब, ४० अर्ब, १२० अर्ब, ४० अर्ब, १२० अर्ब, २० अर्ब र ४० अर्ब) गरी निक्षेप संकलन गरिएको हो। यसअघि बैंकहरूले बढी भएको पैसा राष्ट्र बैंकमा बढीमा २१ दिनका लागि मात्र राख्न पाउने व्यवस्था सच्याउँदै अहिलेको असाधारण परिस्थितिलाई सम्बोधन गर्न सिधै ६ महिना (१७५ दिन) सम्म राख्न पाउने ऐतिहासिक व्यवस्था गरिएको छ। छोटो अवधिको उपकरणले मात्र नपुगेपछि दीर्घकालीन उपाय स्वरूप केन्द्रीय बैंकले पुस महिनामा मात्रै २ खर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) समेत जारी गरेर बजारबाट पैसा खिचेको छ।
विज्ञहरूका अनुसार बैंकहरूमा पैसा थुप्रिएर ब्याजदर सस्तो हुनु नयाँ सरकारका लागि विकास ऋणपत्र जारी गरी सस्तोमा आन्तरिक ऋण उठाउने र सडक, जलविद्युत, सिँचाइ तथा प्रसारण लाइन जस्ता ठुला पूर्वाधारमा लगानी बढाउने एउटा सुनौलो अवसर हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस