बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८१ खर्ब भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्था ८१ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन पुगेको हो । जुन नेपालको बैंकिङ प्रणालीमा रहेको अहिलेसम्मकै उच्च निक्षेप हो ।
बैंकिङ प्रणालीमा रहेको निक्षेपमध्ये वाणिज्य बैंकको मात्रे ७३ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन बढ्दै जाँदा कर्जा प्रवाह भने सुस्त देखिएको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार कर्जा प्रवाह रकम ५९ खर्ब ३० अर्ब पुगेको छ । यो रकममध्ये वाणिज्य बैंकको कर्जा प्रवाह ५२ खर्ब ७५ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ६ खर्ब ५५ अर्ब रहेको छ ।
कर्जा प्रवाह सुस्त हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता समेत बढ्दै गएको छ । लगानीयोग्य रकम उपयोग हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाले ठूलो हिस्सा नेपाल राष्ट्र बैंकमै राख्न बाध्य भएका छन् । राष्ट्र बैंकका पछिल्लो तथ्यांकअनुसार वित्तीय प्रणालीको ११ खर्ब ३७ अर्ब रुपैयाँ केन्द्रीय बैंकमै थुप्रिएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा र एक वर्षे ऋणपत्रमार्फत यो रकम खिचिएको हो । चालु आर्थिक वर्षको हालसम्ममा राष्ट्र बैंकले १० अर्बदेखि ४५ अर्ब रुपैयाँसम्मका १२ वटा एक वर्षे ऋणपत्र जारी गरिसकेको छ । यी ऋणपत्रमार्फत मात्रै ३ खर्ब ५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिएको छ । त्यस्तै निक्षेप संकलन उपकरणमार्फत ६ खर्ब ६९ अर्ब ३५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १ खर्ब ६२ अर्ब ६५ करोड रुपैयाँ तरलता व्यवस्थापन गरिएको छ ।
बैंकहरूमा थुप्रिएको तरलताका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापनमा समेत दबाब परेको छ । हाल अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ । ब्याजदर २.७५ प्रतिशतभन्दा तल नझर्नका लागि राष्ट्र बैंकले नियमित रूपमा बजारबाट पैसा तानिरहेको छ । नीतिगत व्यवस्थाअनुसार अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतभन्दा तल गएमा राष्ट्र बैंकले तरलता खिच्नुपर्ने हुन्छ भने ६ प्रतिशतभन्दा माथि पुगेमा बजारमा पैसा प्रवाह गर्नुपर्ने व्यवस्था छ । बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था भए पनि हाल कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७२.४५ प्रतिशतमा सीमित छ । यस आधारमा प्रणालीमा करिब साढे १३ खर्ब रुपैयाँ लगानीयोग्य तरलता बाँकी रहेको देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस