स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘भिजन २०२९’ सार्वजनिक गरेको छ । इप्पानले ऊर्जा क्षेत्रको समग्र विकास, निजी क्षेत्रका समस्या समाधान तथा संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै ‘इप्पान भिजन २०२९’ अन्तर्गत ५० बुँदे कार्ययोजना पारित गरेको हो ।
धुलिखेलमा असार १९ र २० गते सम्पन्न नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले ऊर्जा क्षेत्रमा देखिएका नीतिगत, कानुनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारसँग प्रभावकारी पहल गर्ने निर्णय गर्दै उक्त कार्ययोजना अनुमोदन गरेको हो । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा बसेको बैठकले विद्युत् उत्पादन, प्रसारण, लगानी, वित्तीय व्यवस्थापन तथा विद्युत् व्यापारसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाउने निर्णय गरेको जनाएको छ ।
कार्ययोजनाअनुसार विद्युत् खरिद सम्झौता (पीपीए) प्रणालीमा सुधार, नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण निर्माण तथा प्रसारण पूर्वाधार विस्तारलाई विशेष प्राथमिकता दिइनेछ । साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसार पीपीए ड्राफ्ट तयार पार्ने, नेपाल विद्युत् प्राधिकरणमा रोकिएका करिब १६ हजार मेगावाट क्षमताका आयोजनाको प्रक्रिया तत्काल अघि बढाउन पहल गर्ने र पीपीए दर पुनरावलोकनका लागि सरकारसँग समन्वय गरिनेछ । वन क्षेत्रभित्रका आयोजनाका लागि जग्गा उपलब्ध गराउने तथा रुख कटानको प्रक्रिया एक वर्षभित्र अनिवार्य रूपमा सम्पन्न हुने व्यवस्था गर्न ‘सनसेट ल’ ल्याउन पहल गरिने तथा निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माणको अनुमति दिनुपर्ने माग कार्ययोजनामा समेटिएको छ ।
विद्युत्को आन्तरिक खपत वृद्धि गर्न उद्योगहरूलाई सहुलियतपूर्ण दरमा विद्युत् उपलब्ध गराउने, विद्युतीय सवारीसाधनका चार्जिङ स्टेसन विस्तार गर्ने तथा हरित हाइड्रोजनको अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्ने लक्ष्य पनि इप्पानले अघि सारेको छ । ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी ९ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न तथा समस्याग्रस्त जलविद्युत् आयोजनाका लागि विशेष पुनरुत्थान प्याकेज ल्याउन नेपाल राष्ट्र बैंकसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।
संस्थागत गतिविधिलाई प्रभावकारी बनाउन इप्पानले १६ वटा विषयगत समिति तथा उपसमिति गठन गरेको छ । नीति निर्माण तथा विद्युत् व्यापार समितिको संयोजकमा उत्तम ब्लोन लामा, ऊर्जा मन्त्रालय समन्वय समितिको संयोजकमा नरेन्द्र बल्लभ पन्त तथा बैंक तथा वित्तीय संस्था समन्वय समितिको संयोजकमा सुमनकुमारी जोशीलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी संस्थाको मुख्य सल्लाहकारमा गणेश कार्की तथा विज्ञ सल्लाहकार समूहको प्रमुखमा पूर्वसचिव दिनेश कुमार घिमिरे चयन भएका छन् ।
बैठकले इप्पानको प्रमुख कार्यक्रम ‘हिमालय हाइड्रो एक्स्पो’ को पाँचौँ संस्करण २०८३ माघ २, ३ र ४ गते (सन् २०२७ जनवरी १६ देखि १८ सम्म) काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस