यात्रीलाई बासी तथा अस्वस्थकर खाना खुवाउने देउखुरीस्थित एक होटललाई जरिवाना गरिएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयामा सञ्चालित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनविपरीत बासी खाना बिक्री गरेको पाइएपछि उक्त जरिवाना गरेको हो।
टोलीले होटलको फ्रिजमा अस्वस्थकर, बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रङ प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्यसूची नटाँसेको, नालीमा फोहर पानी जमेको, भान्सामा दुर्गन्ध रहेकोजस्ता समस्या पाएपछि जरिवाना गरेको प्रमुख बरालले बताए । प्रमुख बरालका अनुसार उक्त होटललाई यसअघि पनि पटकपटक सुधार गर्न निर्देशन गरिएको भए पनि अटेर गरिएपछि सो टोली पुनः अनुगमनका लागि होटलमा पुगेको हो । यसअघि जस्तै यसपटक पनि कुनै पनि सुधार नदेखिएपछि अनुगमन टोलीले जरिवाना गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस